डोटी – नेपाली सेना, रुद्रध्वज गणले यहाँको केआइसिंह गाउँपालिका वाइलमा शनिबार सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ४१५ ले उपचार सेवा लिएका छन् । गणपति प्रमुख सेनानी रत्नकेशर खड्काले स्वास्थ्यसेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई सहजरूपमा उपचार सेवा प्रदान गर्न शिविर सञ्चालन गरिएको जानकारी दिए ।
कान सुन्ने उपकरण , निःशुल्क औषधि वितरण, भिडियो एक्सरे, गर्भवती परीक्षण, स्त्रीरोग तथा दन्त परीक्षणसमेत गरिएको थियो । शिविरमा सबैभन्दा बढी कान, छाला, ढाड दुख्ने तथा रुघाखोकीका बिरामीको रहेको उपचारमा संलग्न प्राविधिक उपसेनानी डा यमुना थापाले जानकारी दिइन् ।
आफ्नै घरआँगनमा विशेषज्ञ सेवा पाउँदा खुशी भएको केआइसिंह गाउँपालिका प्रमुख लोकेन्द्रबहादुर शाहीले बताए । उनले भने, “घरैमा निःशुल्क स्वास्थ्य सेवा पाएका छन्, यस्ता शिविर अन्य ग्रामीण बस्तीमा पनि विस्तार गर्नु जरुरी छ ।” बालरोग विशेषज्ञ डा ललित सुरी, फिजिसियन विशेषज्ञ डा उत्तम भट्ट, स्त्रीरोग विशेषज्ञ डा दुर्गा मर्हजन, प्राविधिक उपसेनानी डा बबिता सिलवाल र उपसेनानी डा थापाले सेवा प्रदान गरेका थिए ।




प्रतिक्रिया