काठमाडौं – पक्राउ परेकी गायिका आस्था राउतलाई प्रहरीले हिरासतमै राखेर अनुसन्धान अगाडि बढाउने भएको छ । गायिका राउतमाथि थप अनुसन्धान गर्नका लागि म्याद लिन काठमाडौं जिल्ला प्रशासन कार्यालय लगिएको काठमाडौं प्रहरी परिसर (एसएसपी) उत्तम सुवेदीले जानकारी दिए ।
उनी आज बिहान आफैं काठमाडौं प्रहरी परिसरमा उपस्थित भएकी थिइन् । उनी उपस्थित भएपछि प्रहरीले स्वास्थ्य परीक्षण गराएर हिरासतमा लिएको थियो । एसएसपी सुवेदी राउतलाई कानुन अनुसार कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले राउतको बयान लिने तयारी भइरहेको जानकारी दिए ।
‘उहाँको स्वास्थ्य परीक्षण भएको छ अब म्याद थप गर्न सिडिओ कार्यालय लाँदैछौं । त्यसपछि सरकारी वकिलको उपस्थितिमा बयान लिन्छौं । उहाँमाथि सिसिलेवार रुपमा अनुसन्धान हुन्छ,’ उनले भने ।
राउत परिवारका साथमा परिसर पुगेकी थिइन् । माघ १ गते त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप राउतमाथि छ ।
श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।
आफूमाथि दुर्व्यवहार गरेको भन्दै विमानस्थलमा कार्यरत एक महिला प्रहरीले उजुरी हालेपछि राउतविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
प्रहरीले राउतलाई फरार सूचीमा राखेको थियो । यसअघि प्रहरीले उनलाई नेपाल आउनसाथ पक्राउ गर्ने बताएको थियो ।




प्रतिक्रिया