कोरोना भाइरसको नमुना परीक्षण आजदेखि नेपालमै गरिने

कोरोना भाइरसको नमुना परीक्षण आजदेखि नेपालमै गरिने


काठमाडौं – चीनको उहान शहर हुँदै नेपाल भित्रिएको कोरोना भाइरसको नमुना परीक्षण नेपालमै हुने भएको छ ।

कोरोनाको परीक्षणका लागि आवश्यक पर्ने केमिकल नेपाल आइपुगेकाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आज (सोमबार)देखि कोरोना भाइरसको नमुना परीक्षण गरिने प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाले जानकारी दिइन् । उपचारको क्रममा डाक्टरले कोरोना भाइरसको शङ्का गरेका व्यक्तिको मात्रै परीक्षण हुने पनि उनले बताइन् ।

चीनबाट नेपाल आएका एक जनामा कोरोना भाइरस भएको पुष्टि भैसकेकाले त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थल र रसुवागढी नाका हुँदै नेपाल आउने यात्रुको निगरानी बढाइएको सरकारले दाबी गरेको छ । चीनबाट आएका व्यक्तिमा सय डिग्रीभन्दा बढी ज्वरो आएको भेटिए उपचारको लागि अस्पताल पठाउने गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म एक जनामा कोरोना भाइरसको पुष्टि भएको र अरु दुई जनामा शङ्का गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शङ्का गरिएको दुई जनाको नमुना परीक्षणको लागि हङकङ पठाइएको र एकदुई दिनमा नै प्रतिवेदन आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले शङ्का गरिएका दुई जनालाई डाक्टरको निगरानीमा राखिएको छ ।