मोरङको केराबारी गाउँपालिकामा बम भेटियो, सेनाद्वारा डिस्पोज

मोरङको केराबारी गाउँपालिकामा बम भेटियो, सेनाद्वारा डिस्पोज


विराटनगर – मोरङको केराबारी गाउँपालिकामा भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । केराबारी गाउँपालिका–२ सिंहदेवीको ढ्याङ्ग्रे डाँडामा रहेको एनसेल टावरलाई लक्षित गरेर राखिएको सुतली बम सोमबार दिउँसो नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो ।

टावरमा आइतबार साँझ अज्ञात समूहले आगजनी र बम विष्फोट गराएर क्षति पनि पुर्‍याएको थियो । १०÷१२ जनाको संख्यामा रहेको समूह घटना गराएपछि टावरको मुख्य गेटमा सुतली बम राखेर फरार भएको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए ।

आगजनी र विष्फोट गराउने समूहले नै टावरको सुरक्षाका लागि तारले घेराबारा गरेर भित्र प्रवेश गर्नका लागि बनाइएको मुख्य गेटमा राखेको सुतली बम दिउँसो ४ बजे नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेर विष्फोबाट पुग्ने थप क्षति हुनबाट जोगाएको जानकारी डीएसपी थापाले दिए ।