काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश– २ का अध्यक्ष प्रभु शाहले नेकपाको नियम र सरकारको कामबारे प्रश्न उठाएका छन् । उनले प्रदेशमा नेकपालाई काम गर्न चुनौती रहेको बताएका हुन् ।
शुक्रबार नेकपा केन्द्रीय समिति बैठकमा रिपोर्टिङ गर्दै उनले पार्टी पद्धतिमा नचलेको, वैचारिक प्रशिक्षण नहुँदा समस्या भएको र संविधान विरोधी दलको सरकार हुँदा काम गर्न कठिन भएको लगायत बुँदामा रिपोर्टिङ गरेका छन् ।
‘केही मन्त्रीहरुको काम कारवाही र व्यवहार हेर्दा हाम्रो सरकार हो कि होइन रु भन्ने दुविधा उत्पन्न हुने गरेको छ । जो पार्टीको लागि पक्कै सकरात्मक छैन’, उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरुले विकास निर्माणबारे सार्वजनिक ढङ्गले बोलेको कार्यहरु समयमा नहुँदा हामी अप्ठयारोमा परेका छौँ । हाम्रा नेतृत्व प्रतिको विश्वास र नैतिक आधार गुम्दै गएको छ ।’
बैठकमा अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन र महासचिवको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावबारे समूहगत छलफल सकिएपछि प्रदेश संगठनको अवस्थाको विषयमा प्रदेश अध्यक्षले रिपोर्टिङ गरेका हुन् ।
प्रदेश–१ का अध्यक्ष देवराज घिमिरे, प्रदेश–२ का अध्यक्ष प्रभु साह, बागमती प्रदेश अध्यक्ष नारायण दाहाल, गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे, प्रदेश–५ का अध्यक्ष ओनसरी घर्ती, कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटी, सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले रिपोर्टिङ गरेका हुन् ।
अध्यक्ष शाहले प्रदेशको राजनीतिक अवस्था १३ बुँदामा सुझाव तथा निष्कर्ष प्रस्तुत गरेका छन्ः
१. कतिपय जिल्लामा पदाधिकारी पूर्णता पाएको छैन, जसले गर्दा सम्बन्धित जिल्लाको काम कारवाही पुरै प्रभावित भइरहेको स्थिति छ । त्यसैले जिल्ला पदाधिकारीको पूर्णता छिटो गरिदिन केन्द्र समक्ष विशेष आग्रह गर्दछु ।
२. प्रदेश भित्रको कतिपय विवादित गम्भीर विषय समाधानका लागि केन्द्र समक्ष आग्रह गरेको महिनौ हुँदा पनि निर्णय समयमा नआउदा काम गर्न अप्ठ्यारो परेको छ । यसमा छिटो ध्यान जाओस भनी विशेष आग्रह गर्न चाहन्छु ।
३. दुई पक्षबीच जिल्ला पदाधिकारी बाँडफाड हुँदा आफैले बनाएको मापदण्ड विपरीत केही नेताहरुको इन्टरेस्टमा गलत ढङ्गले पदाधिकारी तोकिएको छ । जसले पार्टी संचालनमा प्रश्नैप्रश्न उठेको मात्र छैन कतिपय जिल्लामा झन समस्या बल्झिएको छ । यसलाई छिटो सच्याउन समेत आग्रह गर्दछु ।
४. एकरुप वैचारिक बुझाइको अभावमा थुप्रै समस्या देखिएकोले छिटो राजनीतिक वैचारिक प्रशिक्षणको आयोजना गर्नसमेत आग्रह गर्दछु ।
५. स्थायी कमिटी र केन्द्रिय कमिटी सदस्यहरुको छनौट के कस्तो मापदण्डको आधारमा भएको हो ? जान्न चाहन्छु । साथै कतिपय कार्य विभाजन दोहोरो-तेहरो भएको छ । त्यसलाई सच्याउन माग गर्दछु ।
६. संघीयता कार्यान्वयनको ऐतिहासिक अभिभारा पाएको हाम्रो पार्टीको निर्णय, विधि, शैली र आचरण पनि संघीय व्यवस्था अनुरुप हुनुपर्छ साथै समानुपातिक समानुपातिक प्रतिनिधित्वको लागि लडेको हाम्रो पार्टीको सबै तह र कमिटीमा समानुपितक सहभागीको व्यवस्था जरुरी छ, ध्यान जाओस् ।
७. प्रदेश नम्बर २ को राजनीति हामी हाम्रो तागतको बलमा गर्न चाहन्छौ कि अन्य दलको सहारामा रु नीतिगत स्पष्टता जरुरी छ । हिजो प्रदेश सरकारमा हामी प्रतिपक्षमा हुँदा प्रदेशको प्रमुख सत्ताधारी पार्टीसँग संघीय सरकारमा सहकार्यको औचित्य के थियो ? जान्न चाहन्छु। र अब फेरी पनि त्यस्तो गल्ती नहोस् भन्न चाहन्छु ।
८. केही मन्त्रीहरुको काम कारवाही र व्यवहार हेर्दा हाम्रो सरकार हो कि होइन ? भन्ने दुविधा उत्पन्न हुने गरेको छ । जो पार्टीको लागि पक्कै सकरात्मक छैन । यस्ता शैली र कार्य सञ्चालन सच्याउन समेत अनुरोध छ । सिमाना क्षेत्रमा हाम्रो पार्टी पक्षधर जनता असुरक्षित छन् त्यसको प्रोटेक्सन तथा आम जनताको सुरक्षाको विशेष व्यवस्थाको पहल गर्नसमेत आग्रह गर्दछु ।
९. देशको अन्य प्रदेशको तुलनामा हामी कमजोर एवम् प्रतिपक्षमा रहेको प्रदेश नम्बर २ को विकास निर्माण र राजनीतिक नियुक्तिमा केन्द्र सरकार पुरै उदासिन रहेको देखिन्छ । भएका राजनीतिक नियुक्ति पनि प्रदेश कमिटिको जानकारी वा सिफारिसमा भएको छैन । अमुक व्यक्तिको सिफारिसमा नियुक्ति गर्ने परिपाटीलाई रोकियोस् ।
२०. प्रधानमन्त्री र मन्त्रीहरुले विकास निर्माणबारे सार्वजनिक ढङ्गले बोलेको कार्यहरु समयमा नहुँदा हामी अप्ठयारोमा परेका छौँ । हाम्रा नेतृत्व प्रतिको विश्वास र नैतिक आधार गुम्दै गएको छ । यस्ता वचनवद्धता जो जसको पालामा भएपनि काम जसरी पनि पुरा गर्ने संस्कार स्थापित गर्न जरुरी छ ।
११. बाढपीडितका लागि सरकारबाट खासै सम्बोधन भएको छैन, जसले साम्प्रदायिक सोच अर्थात भुकम्पपीडितलाई हेर्ने सरकार बाढपीडितलाई नहेर्ने जस्ता साम्प्रदायिक सोचहरु विकास हुन सहयोगी देखिएकोले यसलाई तुरुन्त सम्बोधन गर्न आग्रह गर्न चाहन्छु ।
१२. हामीले आफ्नो पद छोड्न पनि नपाउने र काम पनि गर्न नदिने स्थितिको अन्त्य कहिलेसम्म हुन्छ रु अध्यक्ष कमरेडबाट जान्न चाहन्छु ।
१३. अन्तर संघर्षको आवरणमा पार्टीको प्रतिष्ठा नै ध्वस्त पार्नेगरी भईरहेको आपराधिक गतिविध गर्ने गराउने नेताज्यूहरुलाई कारवाही होस भन्ने आग्रह गर्दछौँ ।




प्रतिक्रिया