बखुन्डोलस्थित उत्तर कोरियाली दूतावासनजिकै भीषण आगलागी

बखुन्डोलस्थित उत्तर कोरियाली दूतावासनजिकै भीषण आगलागी


ललितपुर – ललितपुरको बखुन्डोलस्थित उत्तर कोरियाको दूतावासनजिकै रहेको कवाड संकलन केन्द्रमा आगलागी भएको छ ।

आगलागीमा परि भारतको मोतिहारी घर भई सानेपामा बस्ने ४५ वर्षीय धर्मनाथ जैसवाल र भारतको सीतामढी घर भई कुपन्डोल बस्ने ३० वर्षीय नन्दु जैसवाल घाइते भएको प्रहरीले जनाएको छ ।

डीएसपी सन्तोष तामाङले कामदार र मालिक आगलागीबाट घाइते भएको जानकारी दिए । उनले विद्युत सर्ट भएर आगलागी भएको जानकारी दिए ।

‘कामदार धर्मनाथ जैसवाल र मालिक नन्दु जैसवाल घाइते भएका छन । उनीहरुलाई रेस्क्यु गरेर अल्का अस्पताल पठाइएको छ’, काठमाडौंपाटीसँग कुरा गर्दै डीएसपी तामाङले भने, ‘मालिक नै घाइते भएपछि क्षतिको विवरण थाहा हुन सकेको छैन् ।’

कामदार भनिने धर्मनाथलाई थप उपचारका लागि किर्तिपुर लगिएको उनले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । दुवैको अल्का अस्पतालमा उपचार भइरहेको छ ।

५ वटा वारुण यन्त्रले आगो निभाएका छन् । नेपाल प्रहरी, सशत्र प्रहरी र स्थानीय बासिन्दा आगो निभाउन प्रयासरत छन् । यस्तै सेनाको एउटा टुकडी पनि आगो निभाउनका लागि परिचालन भएको छ । आगलागी भएपछि नजिकैका स्थानीयहरुबीच भागाभाग भएको थियो ।