चितवनको गाउँपालिका पार गर्न पनि कर !

चितवनको गाउँपालिका पार गर्न पनि कर !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुग्लिन – स्थानीय तहले लिइरहेको करमाथि जनमानसबाट प्रश्न उठिरहेकै बेला चितवनको इच्छाकामना गाउँपालिकाले यहाँबाट लैजाने कृषिजन्य सामग्रीमा कर लिन थालेको छ ।

अन्य जिल्लाबाट ल्याइएका कृषिजन्य सामग्रीमा कर तिर्नुपर्दा व्यवसायी मारमा परेका छन् । स्थानीय उत्पादन बाहिर निर्यात गर्दा कर लिने भनी गाउँपालिकाले तीन ठाउँमा ढाट राखेका छन् । तर अन्यन्त्र जिल्लाबाट गाउँपालिका हुँदै लैजाने सामग्रीको पनि कर लिने गर्दा व्यवसायी मारमा परेका हुन् ।

कर उठाउने जिम्मेवारी पाएको आश्ना कन्सट्रक्सनले नारायणगढतर्फ रिग्दिखोलामा, काठमाडौंतर्फ फिस्लिङमा र पोखरातर्फ मुग्लिन पुल नजिकै ढाट राखेर कर असूली गर्दै आएको छ । बाहिरबाट ल्याइएको कृषिजन्य सामग्रीमा पनि गाउँपालिकाले अनाधिकृत रूपमा कर उठाएकोमा व्यवसायीहरु यो कार्यको विरोध जनाएका छन् ।

पोखराबाट नारायणगढतर्फ लैजाने कृषिजन्य वस्तुमा पनि कर लिने गरेको राष्ट्रिय फलफूल तथा तरकारी बिक्री सङ्घ कास्कीका कार्यसमिति सदस्य दुर्गा कँडेलले बताउनुभयो । उहाँले यस विषयमा गाउँपालिका र जिल्ला प्रशासन कार्यालय चितवनमा पटक–पटक जानकारी गराउँदासमेत कुनै सुनवाई नभएको बताए । उनले भने, ‘स्थानीय प्रशासन र इलाका प्रहरी कार्यालय मुग्लिनमासमेत उजूरी दिएको छु तर अहिलेसम्म यसबारे कुनै सुनवाई भएको छैन् ।’

गाउँपालिकाभित्र उत्पादन भएका ढुङ्गा, गिट्टी बालुवा, इँटा, कटिङ ढुङ्गा, माटो, फलफुल, तरकारी तथा वनजन्य खयर, काठ, दाउरा, गोलिया, जडीबुटी, हाड, सिङ, छाला, चौपायालगायत अन्य शीर्षकमा गाउँपालिकाले यसै आर्थिक वर्षदेखि कर उठाउन शुरु गरेको हो । उक्त शीर्षकमा कर उठाउनका लागि आश्ना कन्सट्रक्सनलाई जिम्मेवारी दिएको छ ।

कँडेलले इच्छाकामनामा पार गर्दा लिएको करको आधादर्जन भन्दा बढी रसिद देखाउँदै भने, ‘हामीले पोखराबाट नारायणगढ लैजाने सामग्रीमा जबरजस्ती कर लिनेको गरेको छ , सम्बन्धित जिल्ला प्रशासन कार्यालय र गाउँपालिकालाई पटक–पटक जानकारी गराएका छौँ, प्रहरीमा उजूरी पनि दिएका छौँ तर सुनवाई भएन, यसरी जथाभावी कर उठाउँदा व्यवसायी मर्कामा परेका छन्, उही सामान उही परिणामको भए पनि हरेक पटक फरक–फरक कर रकम असुल्ने गरेका छन् ।’

कँडेलले उपलब्ध गराएको बिलमा पहिलो दिन कृषिजन्य शीर्षकमा प्रति टिप १०० रुपैयाँ शुल्क लिएकोमा क्रमशः पछिल्ला दिनमा प्रतिटिप रु २००, त्यसपछि प्रतिटिप रु २५० र पछिल्लो दिनमा रु ४५० सम्म अवैध रुपमा कर असूली गरेको देखिन्छ ।

गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले अब त्यसरी कर नउठाइने भनेर बारम्बार आश्वासन दिएपनि कर सङ्कलकले विभिन्न बाहनामा बखेडा झिकेर दादागिरी शैलीमा कर लिने गरेको प्रमाण नै पेश गर्दासमेत सुनुवाई नभएको उनले बताए ।

बाहिरबाट आएको सामग्रीमा पनि इच्छाकामना गाउँपालिकाले कर उठाएकोबारे अध्यक्ष गुरुङसँग कुरा गर्दा उहाँले केही समय पहिले स्थानीय उत्पादित बस्तु पनि झुक््याएर बाहिरको भनेर कर नतिर्दा कर सङ्कलकले बाहिरको सामग्रीमा पनि कर लिएको तर अहिले अनुगमन पश्चात बाहिरको हो भनी आवश्यक प्रमाण र कागजपत्र भए कसैसँग कर नउठाएको र उठाएको भए तत्काल कर सङ्कलकलाई कारवाही गर्ने बताए ।