रुपन्देही – लागुऔषधको दुव्र्यसनी नियन्त्रण गर्न बुटवल उपमहानगरपालिकामा निःशुल्क कानूनी तथा मनोसामाजिक परामर्श केन्द्र सञ्चालनमा ल्याइएको छ । बुटवल उपमहानगरपालिका–५ कार्यालय नजिकै सञ्चालनमा ल्याइएको परामर्श केन्द्रको आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले संयुक्तरूपमा उद्घाटन गरे ।
प्रहरी महानिरीक्षक खनालले लागुऔषधले परिवार र समाजलाई नै अक्रान्त बनाउने भएकाले लागुऔषधमुक्त बनाउन जरुरी रहेको धारणा राखे । उनले लागुऔषधको कुलतबाट युवाहरुलाई जोगाउन परामर्श केन्द्रले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
भारतसँगको खुला सीमाका कारण लागुऔषधको प्रयोग तथा ओसार–पसारका अपराध हुने गरेको उल्लेख गर्दै उनले समुदायको सहयोगले मात्र लागुऔषध, अपराध नियन्त्रण तथा शान्ति, सुरक्षा कायम गर्न सम्भव हुने बताए ।
कार्यक्रममा प्रदेशसभाका सदस्य सन्तोष पाण्डेले देशका कर्णधार मानिएका युवालाई लागुऔषधको कुलतबाट जोगाउन सबै नगरमा परामर्श केन्द्र आवश्यक रहेको बताए । बुटवल उपमहानगरपालिकाका प्रमुख सुवेदीले युवा पुस्ता लागुपदार्थ सेवनको कुलतमा फस्दै गएकाले त्यसको नियन्त्रण र समुदायमा सचेतनाका लागि परामर्श केन्द्र सञ्चालनमा ल्याइएको बताए ।
लागुऔषध प्रयोगकर्ताको पुनःस्थापनाका लागि खुलेका निजी केन्द्रहरुमा चर्को शुल्क लिने गरेको र राम्रोसँग उपचार नहुने गरेका गुनासा आइरहेको बताउँदै प्रमुख सुवेदीले बुटवलमा शुरु भएको निःशुल्क कानूनी तथा मनोसामाजिक परामर्श केन्द्रले धेरै जना लाभान्वित हुने दाबी गरे ।
कार्यक्रममा परामर्श केन्द्र सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाका प्रशासकीय अधिकृत चक्रपाणि शर्मा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमबहादुर थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, नेपाल पत्रकार महासङ्घ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, प्रहरी कार्यालयका वसन्त थापा, महिला अगुवा रीता सेन ओलीलगायतले शान्ति सुरक्षा कायम राख्ने काममा प्रहरी र नागरिकको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो । परामर्श केन्द्रमा दक्ष परामर्शदाताले नियमितरूपमा सेवा प्रदान गर्ने बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले बताए ।




प्रतिक्रिया