बालुवाटार जग्गा प्रकरणमा मैले अपराध गरेको छैन, म भ्रष्टाचारी हाेइन : माधव नेपाल

बालुवाटार जग्गा प्रकरणमा मैले अपराध गरेको छैन, म भ्रष्टाचारी हाेइन : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले दोषी, अपराधी र भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँगको कुराकानीमा बोल्देै उनले निर्दोष र निरअपराधी फस्न नहुने भन्दै ललिता निवास प्रकरणमा आफू दोषी नभएको बताए । ‘म दोषी छैन, मैले अपराध गरेको छैन र म भ्रष्टाचारी पनि हैन,’ उनले भने, ‘दोषी, अपराधी जो सुकै भएपनि उसले उन्मुक्ति पाउनुहँदैन । उसलाई कारबाही हुनुपर्छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेको नेता नेपालले एमसिसीका विषयमा अनुचित शर्त रहन नहुने भन्दै यसका लागि छुट्टै एक कार्यदल बनेको र यसले यस विषयमा गहन अध्ययन गरिरहेको जानकारी दिए । इण्डोप्याफिक रणनीतिकै एउटा अङ्ग हो कि भन्ने भ्रमलाई कार्यदलले हटाउने भन्दै उनले एमसिसी नेपालका लागि हित भएकाले यसलाई सरकारले स्वीकृत गर्नुपर्ने धारणा राखे ।

नेता नेपालले हामीसँग राम्रो सम्बन्ध राख्ने मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध बनाउन खोजेको चर्चा गर्दै संयुक्त राज्य अमेरिकाले आफ्ना जिडिपीको केही अंश अल्पविकसित राष्ट्रलाई दिनु अधिकारभित्र पर्ने बताए ।

उनले वैदेशिक ऋण र लगानीलाई ‘समृद्ध राष्ट्र, सुखी नेपाली’ बनाउने महान अभियानमा योजनाबद्ध ढङ्गले खर्च गर्नुपर्ने उल्लेख गर्दै सरकारले आफ्ना कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताए ।

वरिष्ठ नेता नेपालले सरकारले मुलुकलाई सही ढङ्गले अगाडि बढाउनुपर्ने बताउँदै नेपालको वातावरण प्रदूषण न्यूनीकरणमा प्राप्त हुने वैदेशिक सहयोगलाई उचित ढङ्गले खर्च गर्नुपर्नेमा जोड दिए ।