प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक गिरीविरुद्ध अख्तियारद्वारा आरोपपत्र दायर

प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक गिरीविरुद्ध अख्तियारद्वारा आरोपपत्र दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको फेटा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक पदमा कार्यरत कर्मचारी ओमप्रकाश गिरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको छ ।

कर्मचारी गिरीको प्रमाणपत्र तह र स्नातक तहको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निजको शैक्षिक योग्यता नक्कली फेला परेपछि विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

कर्मचारी गिरीले फेटा गाउँपालिकामा २०७८ जेठ १ गतेदेखि नेपाल सरकारको राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत सरहको रोजगार संयोजक पदमा नियुक्ति पाएका थिए ।

प्रवक्ता न्यौपानेका अनुसार कर्मचारी गिरीले नियुक्ति लिँदा पेस गरेको ३ वर्षे बीएड तहको लब्धांकपत्र त्रिभुवन विश्वविद्यालयबाट प्रमाणीकरण भई आउँदा निजको नभई अन्य व्यक्तिको भएको भनी खुल्न आएकाले शैक्षिक योग्यता ढाँटी/झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको पद र ओहदा प्राप्त गरेको देखिँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन माग दाबीसहित आरोपपत्र दायर गरिएको छ ।