काठमाडौं – साझा पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धर्ना दिन पुगेका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ ।
ललिता निवास जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुलाई उन्मुक्ति दिएको भन्दै बिहान ११ बजे अख्तियारमा धर्ना दिन पुगेका साझाका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार ललिता निवासको जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित केही पूर्वमन्त्रीसहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
सोही मुद्दा दर्ता गर्नु स्वागतयोग्य भएको भन्दै अख्तियारका प्रमुख आयुक्तलाई ‘गुलाबको फूल’ उपहार दिन खोज्दा पार्टीका नेता तथा कार्यकर्ता नियन्त्रणमा लिइएको साझाले बताएको छ ।
‘आज विहान ११ बजे अख्तियार पुगेका साझा पार्टीका नेता तथा शुभेच्छुकहरूले अख्तियारले बालुवाटार प्रकरणमा १७५ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गर्नु स्वागतयोग्य भएको भन्दै अख्तियार प्रमुखलाई ‘गुलाफको फूल’ उपहार दिन प्रयास गरेका थिए, जुन सफल हुन सकेन,’ विज्ञप्तिमार्फत साझाले भनेको छ ।
तर, मुद्दा दर्ता गर्दा केहीलाई उन्मुक्ति दिइएको भन्दै साझाले आपत्ति जनाएको छ । त्यसकै बिरोधमा सिठ्ठी जुलुसको तयारी गरेका बेला उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई तत्काल रिहा गर्न साझाले माग गरेको छ ।





प्रतिक्रिया