गोरखा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरणको विषयललाई लिएर प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्नु गलत भएको बताएका छन् ।
शुक्रबार गोरखामा आयोजित कार्यक्रममा उनले चित्त नबुझेको कुरामा विरोध गर्नु प्रतिपक्षीको चरित्र भए पनि आफूलाई लोकतान्त्रिक पार्टी भन्ने कांग्रेसले संवैधानिक अंगको विरोधमा आवाज उठाउनु गलत भएको बताएका हुन् ।
‘अख्तियारले के निर्णय गर्छ भन्ने कुरा हाम्रो सरकारले बताउने कुरा होइन । लोकतन्त्रका निम्ति संघर्ष गरेर आएको नेपाली कांग्रेसजस्तो पार्टी र पार्टीका मित्रहरू प्रष्ट हुनुपर्छ । अख्तियार संवैधानिक छुट्टै अंग हो’, श्रेष्ठले भने, ‘सरकारले निर्देशन दिएर अख्तियार चल्ले हैन । त्यसो गर्नु पनि हुन्न ।’
अख्तियार सम्पूर्ण रूपमा स्वतन्त्र रहेको बताउँदै सरकारले सम्पूर्ण संवैधानिक निकायलाई सबै प्रकारका हस्तक्षपबाट बाहिर राख्ने उनले दावी गरे ।
‘हामी अख्तियारले बिनाभेदभाव, बिनापूर्वागहमा यो निष्कर्ष निकालेको होला भन्ने हामीलाई लागेको छ । सरकारले सम्पूर्ण संवैधानिक निकायलाई कुनै प्रकारको हस्तक्षपमा पर्न दिँदैन’ उनले भने, ‘त्यसकारण कांग्रेसले यो कुरालाई बुझेर अख्तियारलाई अझै बढी अनुसन्धानमूलक कसरी बनाउने भन्ने कुरालाई जोड दिँदै यस घटनामा पनि थप केही निष्कर्ष निकाल्नु छ भने निकालोस भन्ने कुरा हामी चाहान्छौँ ।’
ललिता निवास प्रकरणलाई सरकारबाट निर्दे्शित हो भन्ने भ्रम फैलाउँदै संसद अबरुद्ध गर्ने, प्रदर्शन गर्ने जस्ता काम गर्न नहुने उनले तर्क गरे ।
‘भ्रष्टाचारी जुनसुकै पार्टीको होस्, त्यसलाई छुट दिनुहुँदैन’, उनले भने, ‘तर, प्रतिपक्ष दलले विभिन्न घटना क्रममा आपत्ति प्रकट गर्ने, संसद अवरुद्ध गर्ने कुरा सधैँ पनि आइरहन्छ । तर, सुविचारीक ढंगबाट कदम चाल्नका निम्ति हामी अनुरोध गर्न चाहान्छौँ ।’




प्रतिक्रिया