चितवन – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले कम्युनिस्ट सरकारले जनताको समय र अवसरमात्र बरबाद गरेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा अोलीले सरकार नचलाई सत्ता चलाएको आरोप लगाए ।
नेपाली कांँग्रेस कालिका नगरसमितिले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट एवं वनभोज कार्यक्रममा बोल्दै उनले नेपाललाई कम्बोडिया जस्तो बनाउन खोजेको भन्दै आगामी निर्वाचन पनि नाम मात्रको चुनाव गर्ने कम्युनिस्टको योजना रहेको बताए ।
‘नेकपाले सरकार बनाउन पाउँछ, चुनाव जित्यो भने बकाइदा पाउँछ । नेकपाले सरकार बनायो भन्ने सरोकार हैन, सरोकार नेपाल सरकार कम्बोडिया जस्तो बन्नेभयो ! त्यहाँ सबैभन्दा लामो समय प्रधानमन्त्री बन्नुभयो । हाम्रो प्रधानमन्त्रीको साथी’, थापाले भने, ‘त्यहाँ कांग्रेस जस्तै प्रतिपक्षी पार्टीले हार्यो । प्रतिपक्षीले धाँधली भयो भन्यो । प्रधानमन्त्रीले चुनाव गराउँछु भन्नुभयो । प्रतिपक्षी दलका नेता विदेश गएका बेला भ्रष्टाचारको मुद्दा लगाएर छिर्न दिइएन । प्रतिपक्षी पार्टीले विशेष महाधिवेशन गर्यो नयाँ सभापति चयन गर्यो । तर उहाँलाई पनि राजद्रोहको मुद्दा लगाएर थुनामा हुनुहुन्छ ।’
उनले ओलीले जनतालाई दुई वर्षअघि गरेको वाचा र प्रतिबद्धता पूरा नगरेको भन्दै गफाडीको संज्ञा दिएका हुन् ।
‘मैले प्रधानमन्त्रीलाई दुई वर्षअघि बधाई दिँदै भनेको थिएँ, तपाईं इतिहासकै अवसर पाएको प्रधानमन्त्री हुनुहुन्छ, जनताले ठूलो आशा गरेका छन्,’ उनले भने, ‘अब मैले संसदको भेटमा एउटा मात्र शब्द भन्छु प्रधानमन्त्रीज्यू तपाईं ‘गफाडी’ हो ।’ घोषणपत्रमा उल्लेख भएका कुनै काम सम्बोधन नभएको भन्दै उनले जनतालाई धोका दिएको संकेत गरे ।
हिजोका समयमा प्रधानमन्त्रीले उखानभन्दा जनता उद्वेलित भएको तर अहिले जनताले प्रधानमन्त्रीलाई विश्वास नगरेको थापाले बताए । ‘कहिले प्रधानमन्त्री गीतबाट भन्नुहुन्छ, कविता भन्नुहुन्छ, कहिले सारंगी बजाउनु हुन्छ कहिले बासुरी बजाउनुहुन्छ तर प्रधानमन्त्रीको गीतमा सुर छैन, कवितामा रस छैन सांरगी र बासुरीमा धुन छैन । कोही नाचिरहेका छैनन् । अहिले प्रधानमन्त्रीको कुरामा बोक्रा छ गुदी छैन,’ उनले भने ।
नेता थापाले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दोषी कसैले उन्मुक्ति पाउन नहुने बताए । भ्रष्टाचार जसले गरे पनि उन्मुक्ति पाउन नहुने भन्दै उनले कांँग्रेसमाथि सरकार पूर्वाग्रही भएको आरोप लगाए ।
उनले उक्त प्रकरणमा निर्णय गर्ने तात्कालीन प्रधानमन्त्री र मुख्यसचिव पनि सजायको भागिदार हुनुपर्ने बताए ।
विष्णु पौडेलमाथि व्यंग्य गर्दै थापाले भने, ‘चोरीको सामान फिर्ता गरे उनलाई मुद्दा नलाग्ने अब सबैले चोरी गर्नुस्, विष्णु विष्णु भनेर सामान फिर्ता गर्नुहोस् ।’




प्रतिक्रिया