काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै एकजुट भई राष्ट्रनिर्माणमा जुट्न आग्रह गरेका छन् ।
सोमबार नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक नेतालाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरु नेकपामा समाहित हुन आग्रह गरेका छन् ।
उनले देशको समृद्धि र विकासको निर्विकल्प पार्टी नेकपा भएकाले बताए । विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज उदय राई (उगेन) सोमबार बिहान नेकपामा प्रवेश गरेका हुन् ।
सत्तारुढ नेकपामा प्रवेश गर्दै राईले विप्लव नेतृत्वको पार्टीले गरेको अराजक गतिविधिहरु प्रतिगामी, यथास्थितिवादी शक्ति र प्रवृत्तिलाई मलजल गर्ने भएको दावी गरे । समृद्ध र समानतासहितको वैज्ञानिक समाजवादी व्यवस्थाको आधार खडा गर्दै जानु अहिलेको महत्वपूर्ण र ऐतिहासिक आवश्यकता भएकाले सो समूह परित्याग गरेको उनको कथन थियो ।
राईले विप्लवको भ्रममा रहेका सम्पूर्ण इमान्दार र क्रान्तिकारी साथीहरुलाई अहिलेको आवश्यकतालाई बोध गरी मुलधार नेकपामा आउन आह्वान गरे ।




प्रतिक्रिया