काठमाडौं – नेपाल भ्रमणमा रहेका क्यानेडियन सिनेटका सभामुख जर्ज जे फ्युरीले सभामुख अग्निप्रसाद सापकोटासँग भेटघाट गर्न अस्वीकार गरेका छन् ।
दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आएका सभामुख फ्युरीले पूर्वनिर्धाति कार्यतालिकामा समावेश नभएको भन्दै सभामुख सापकोटालाई भेट्न अस्वीकार गरेका हुन् ।
संसद सचिवालयका सचिव डा.भरतराज गौतमका अनुसार प्रतिनिधि सभाका सभामुख रिक्त रहेकै बेला क्यानेडिएन सभामुख फ्युरीको नेपाल भ्रमण तय भएकाले सोही कार्यतालिका अनुसार मात्रै भेटघाट भएको जानकारी दिए ।
यद्यपी नकारात्मक सन्देश जान सक्ने भन्दै फ्युरी र सापकोटाबीच भेटघाटको प्रयत्न भइरहेको बुझिएको छ ।
संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहान नेपाल आएका क्यानेडियन सभामुख फ्युरीले १२ बजे राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग भेटघाट गरी एक अर्काको अनुभव साटासाट गरेका छन ।
उनले दिउँसो २ बजे डाकिएको राष्ट्रियसभाको बैठक अवलोकन गर्नेछन् । त्यसलगत्तै नेपाल–क्यानडा संसदीय मैत्री समूहसँग भेट गर्ने कार्यक्रम तय भएको छ ।
फ्युरीले मङ्गलबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटघाट गर्ने कार्यतालिका छ । त्यसपछि उनी स्वदेश फर्किने कार्यक्रम रहेको छ ।




प्रतिक्रिया