काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले आफ्नो उदेश्य धेरै कर उठाउनु मात्र नभएको स्पष्ट पारेका छन् । भ्याट फिर्ता योजनाको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आफ्नो प्राथमिकतामा कर प्रणालीलाई व्यवसायमैत्री र लगानीमैत्री बनाउनु रहेको बताए ।
“सबैभन्दा पहिले कर प्रणालीलाई व्यवसायमैत्री र लगानी मैत्री बनाउनु मेरो पहिलो प्राथमिकता हो । हामी त्यही योजनाअनुरुप करदाताको नजिक कर कार्यालय विस्तार गर्ने काम अघि बढाउँदै छौं,” उनले भने ।
अर्थमन्त्री खतिवडाले कर तिर्न तीन जिल्ला पार गर्नुपर्ने अवस्थाको अन्तय गर्ने बताए । कर प्रणालीलाई प्रविधि मैत्री बनाउन आवश्यक रहेको पनि उनको जिकिर छ । उनले करमा सहभागी बढाउन प्रोत्साहनस्वरुप भ्याट फिर्ता योजना सुरू गरेको बताए ।
“हामी मुअ करलाई प्रभावकारी बनाउन करदातालाई प्रोत्साहन गर्न खाज्दै छौं,” अर्थमन्त्री खतिवडाले भने, “सबैको सहयोगमा कर प्रणालीमा सुधार आइरहेको छ । अनलाइन बिलिङ, भीसीटीएसलगायत व्यवस्थाले कर प्रणालीमा धेरै सुधार गरेको छ । कर प्रणाली व्यवसायमैत्री, लगानी मैत्री बन्दै छ ।”
खतिवडाले कर्मचारीको मनोबल बढाउन तथा भौतिक पूर्वाधारमा पनि ध्यान दिनुपर्ने आवश्यकता रहेको औंल्याए । करदाताको पहुँच बढाउनु पर्ने, अपांगता भएकालाई पनि करको पहुँचमा बढाउनुपर्ने, फेसलेस विधिबाट कर तिर्ने व्यवस्थाको आवश्यकता रहेको उनको दाबी छ ।
उनले कर्मचारीको व्यवहार कानुन बनाएर मात्रै ठीक नहुने भन्दै सम्मानजनक रूपमा कर तिर्ने वातावरण कर्मचारीले बनाउनुपर्ने र यसतर्फ ध्यान दिन कर्मचारीहरुलाई आग्रह पनि गरे ।




प्रतिक्रिया