सिन्धुपाल्चोकको रुघाखोकीलाई कोरोना भनेर हल्ला फैलाइयोः स्वास्थ्य मन्त्रालय

सिन्धुपाल्चोकको रुघाखोकीलाई कोरोना भनेर हल्ला फैलाइयोः स्वास्थ्य मन्त्रालय


काठमाडौं – स्वास्थ्य मन्त्रालयले सिन्धुपाल्चोकमा फैलिएको रुघाखोकीलाई कोरोना भाइरस भनेर गलत हल्ला फैलाइएको भन्दै आपत्ति जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता सागर दाहालले सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३, गुम्बा गाउँमा फैलिएको संक्रमण सामान्य रुघाखोकी भएको कुनै कोरानाको संक्रमण नभएको दाबी गरेका हुन् ।

गुम्बा गाउँमा ज्वरो, रुघाखोकीले अहिलेसम्म २ सयभन्दा बढी मानिस बिरामी भएका छन् भने उपचारमा स्वास्थ्यकर्मी खटिरहेका छन् ।

यो संक्रमण कोरोना भाइरसको पनि हुन सक्ने आशंका गर्दै जुगल गाउँपालिका कार्यालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको छ । यसैलाई आधार बनाएर अहिले सञ्चारमाध्यममा कोरोना संक्रमणको आशंका भनेर समाचार आइरहेका छन् । अहिले प्रभावित स्थलमा स्वास्थ्यकर्मीको टोली पुगिसकेको उनले जानकारी दिए ।

तर पनि शंका निवारणका लागि चिकित्सक टोलीले त्यहाँका बिरामीको रगत तथा र्‍यालको नमुना काठमाडौं ल्याउने र टेकु अस्पतालमा कोरोना हो वा होइन भनेर परीक्षण गरिने सह–प्रवक्ता दाहालले जानकारी दिए । उनले रिपोर्ट आएपछि आजै पत्रकार सम्मेलन गर्ने जानकारी दिए ।

‘यो कुनै कोरोनारसोरोना होइन, सामान्य रुघाखोकी हो, गलत हैला फैलाएर मानिसलाई आतंकित बनाउने काम भएको छ’, काठमाडौंपाटीसँग कुरा गर्दै दाहालले भने, ‘अहिले प्रभावित स्थलमा स्वास्थ्यकर्मीको टोली पुगिसकेको छ । थप कुरा रिपोर्ट आएपछि सार्वजनिक गर्छौं ।’

परीक्षण गरेर पुष्टी नभइसकेकाले कोरोना भनेर गलत हल्ला फैलाउन नहुने भन्दै मन्त्रालयले ढुक्क हुन आग्रह गरेको छ ।