शान्ति सुरक्षामा कुनै सम्झौता नगर्न आईजीपी ज्ञवालीलाई गृहसचिवको निर्देशन

शान्ति सुरक्षामा कुनै सम्झौता नगर्न आईजीपी ज्ञवालीलाई गृहसचिवको निर्देशन


काठमाडौं – नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आज आयोजित विशेष समारोहमा गृहसचिव महेश्वर न्यौपानेले उनलाई दज्र्यानी चिह्नबाट सुशोभित गरे ।

मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले आजदेखि लागू हुने गरी उनलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । यसअघिका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश भएपछि सरकारले ज्ञवालीलाई प्रहरी नायब महानिरीक्षकबाट प्रहरी निरीक्षकमा बढुवा गरेको हो ।

उक्त समारोहमा गृहसचिव न्यौपानेले नागरिकको शान्ति सुरक्षा र अमनचयनमा सक्रिय हुन प्रहरी नेतृत्वलाई आग्रह गरे । प्रहरी सङ्गठनको सक्रियताको कमिले आपराधिक क्रियाकलाप मौलाउन सक्नेतर्फ सङ्केत गर्दै उgले त्यसको समीक्षा गरेर अघि बढ्न निर्देशन दिए । उनले नेतृत्व परिवर्तन भए पनि कार्यसम्पादन सम्झौता उही रहेको उल्लेख गर्दै शान्ति सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन दिए ।

उनले प्रहरी अधिकारी व्यक्तिवादी भावना बढेकोतर्फ सङ्केत गर्दै आफूलाई सच्याउनु जरुरी रहेको बताए । ‘माथिल्लो तहमा प्रतिष्पर्धात्मक भावना बढी भएको छ, उछिन्न दौडनेभन्दा व्यावसायिक काममा ध्यान दिनुपर्छ, व्यक्ति केन्द्रित दौडले व्यावसायिकतामा कतै न कतै सम्झौता भएको छ’, प्रहरी अधिकृतलाई इङ्कित गर्दै गृहसचिव न्यौपानेले भजे ।

प्रहरी समायोजन र आपराधिक गतिविधि निस्तेज पार्न केही चुनौती रहेको स्वीकार गर्दै उनले त्यसमा सङ्गठनको व्यावसायिकता प्रदर्शन गर्दै सामूहिकरुपमा अघि बढ्नुपर्नेमा जोड दिए । उनले हालै मात्रै प्रहरीसम्बन्धी दुई विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेकाले अब छिट्टै आवश्यक प्रक्रिया अघि बढ्ने बताए ।

हरेक हप्ता गृहमन्त्रालयमा उच्च व्यवस्थापनको समीक्षा बैठक बस्ने जानकारी दिँदै उनले बैठकले सुरक्षाको क्षेत्रमा उत्पन्न हुने समस्या समाधानमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

प्रहरी कर्मचारीलाई उत्प्रेरित गर्नुपर्ने र अपराधलाई निस्तेज पार्नुपर्ने आजको आवश्यकता औँल्याउँदै उनले समृद्ध नेपाल निर्माणमा प्रहरीको भूमिका महत्वपूर्ण हुने बताए ।

गृहसचिव न्यौपानेले भने, ‘शान्ति सुरक्षा कायम गर्न चुक्यौँ भने समृद्ध राष्ट्र निर्माण अभियानमा असर पर्छ, यसतर्फ प्रहरी अधिकृतको ध्यानाकर्षण गराउनु चाहन्छु ।’