२५ औं जनयुद्ध दिवसः मथिंगलमा नेतृत्वप्रति हजार प्रश्न


मनऋषि धिताल

काठमाडौं – नेपालको अढाई सय बर्ष पुरानो राजतन्त्रात्मक ब्यवस्था विरुद्ध एक दशकसम्म लाखौं जनतालाई संगठित र ब्यवस्थित बिद्रोहमा सामेल गराएको राजनीतिक आन्दोलन यहि फेब्रुअरी १३ देखि २५ औं हेमन्तमा लाग्दैछ । आफैंमा यो आन्दोलनको जीवन अहिले हेमन्त ऋतुको हिउँ सोहोर्दै छ वा शरद ऋतुको सिरेटो व्यहोर्दै छ तर केहि थान नेताहरुको जीवनमा भने बसन्त बहार आएको चाँही धुर्ब सत्य हो । यो पंतिकारले आफ्नो जीवनका पुरै दुई दशक स्वयंसेवीको रुपमा यो आन्दोलनभित्र बिताएकाले आफ्ना केहि बिचारहरु यहाँ लेख्दै छु ।

१९९६ फेब्रुअरी १३ लाई आरम्भ बिन्दु मानिएको राजतन्त्र बिरुद्धको नेपाली कान्छो सशस्त्र बिद्रोहले पुरानो ब्यवस्थाको अन्तिम मेरुदण्ड करिब एक लाख सेना बिरुद्ध एक चौथाई सेना निर्माण गरेको इतिहासको तथ्य हो । देशका नब्बे प्रतिशत भू–भागमा नयाँ सत्ताका भ्रुणहरु जन्माएको अर्को तथ्य हो । राजनीतिक तथा फौजी रुपमा पुरानो सत्तालाइ हायल कायल पारेको पनि सत्य हो । सुदुर कर्णालीको अनपढ युबा सुदुर पूर्वको सामरिक नक्शा कोर्दै फौजी श्रेष्ठता कायम गरेको र देशका हजारौं फौजी ठेगानाहरुमा निर्मम हमला गरेको पनि सत्य हो । तर २५ बर्ष लाग्दै गर्दा के यी सत्यहरु सपना जस्ता लाग्दैनन् ? र, केहि थान नेताहरु र तिनका परिवार वा भजन मण्डली नयाँ सत्त्ताका मशिहा भएको मात्रै धुर्ब सत्य हो जस्तो लाग्दैन ?

संविधानसभाबाट नयाँ संबिधान निर्माण भएको र पुरानो ब्यवस्था आर्यघाटमा सेलाइएको सत्य हो तर केन्द्रदेखि गाउँ–गाउँ पुगेको सिंहदरबारमा जनताबाट चुनिएका भनिएकाहरु नेपालका अन्तिम राजा जस्तै ब्यापारी र ठेकेदार भएको सत्य स्थापित हुन खोज्दैछ, के एउटा ब्यापारी र ठेकेदार राजा फालेर सैयौं राजाहरुलाई पुनर्स्थापित गर्न लाखौं जनताले आफ्नो आँशु पसिना र बलिदानी गरेका थिए ? के समाजबाद ठेक्का पट्टा, कमिशन र भ्रस्टाचारको बाटो हुँदै आउने हो ? र ,बैधानिक रुपमा नियुक्त भएका केन्द्रदेखि गाउँ सम्मका राजाहरुको लागि आएको वा आउँदै गरेको समाजबादलाई आन्दोलनमा इमान्दार र क्रान्तिकारीहरुले काँध थामिदिनु पर्ने कुरो ठिक हो ? अथवा तिनलाई चुच्चे टोपी लगिदिन सल्लाह गर्नु अहिलेको सत्य होइन र ?

नेपाली जनयुद्धको २५ औं बर्ष गाँठको स्मरण गरिरहँदा फागुन १ लाई सकभर बिर्सन खोज्ने नेतृत्वको इरादा बेपत्ता हाम्रा पत्रकार मिलन नेपाली लगाएत हजारौं असल नागरिकलाई बिर्सन खोज्ने होइनर ? बेपत्ता बनाउनेहरुलाई उन्मुक्ति, बढुवा र पुरस्कृत गर्न लाखौं घडी र पला जाग्राम हुने नेताहरु बेपत्ता हाम्रा प्रिय कमरेडहरुको खोजिको लागि बिनय गर्दा किन सुतिरहेका होलान ? के यीनले फागुन १ सम्झिरहेका होलान ? सत्य के हो– बेपता योद्दाहरुको लास र सास नभेटिनु सत्य हो कि बेपत्ता गर्नेहरुका पक्षमा सास नफेरी लाग्नु सत्य हो ? के संक्रमणकालीन न्यायको कुनै गुन्जायस छ ? पीडितलाई प्रलोभन वा डर धम्कि होइन न्यायको बाटोका पक्षमा वकालत गर्नु कर्तब्य हो वा अन्याय गर्नेहरुको शासन, ब्यापार र फुली थप्न रबर स्ट्याम्प बनेर उनीहरुसंग लगनगाँठो जोड्नु पच्चीस भित्रैको क्रान्तिकारी छलांग हो ? (ओ–अ)प्रिय सत्तासीन कमरेड यो गर्न तिम्रा हातहरु काम्दैनन ? फागुन १ तिमीले इतिहासको गौरवशाली दिन थियो भन्ने बिर्सिसकेको सत्य प्रमाण यही होइनर ?

यसै फागुनमा तत्कालीन राज्यले हत्या गरेका १४ बर्षका दिल बहादुर रम्तेल अहिले चालिसको फेरोमा लाग्थे र उनी पछी क्रमशः पछिल्लो मितिमा लगातार दश बर्ष सम्म मारिएका र जनताको ब्यबस्थाका लागि बिरता पुर्बक मृत्यु स्वीकार गरेका १४ हजार सुन्दर जीवनहरुको बलिदानमाथि नैतिकहीन राजनीति गर्नु भन्दा सहिदको रगत पोखिएको माटो छोएर नैतिकहीनहरुको भण्डाफोर गर्नु सत्यको पक्ष लिनु हो । सहिदको बलिदानीबाट आएको र ल्याएको सार्बभौम संसदमा राजतन्त्रको कुडा कर्कटलाई उनीहरुको डाकागिरी र हत्या हिंसाको पुरस्कार स्वरुप भब्य सपथग्रहण गराउनु रातो गलैचा कुल्चिदै प्रतिक्राती आगनमा आइपुग्नु होइनर ?

प्रतिक्रान्तिलाई रातो गलैचाको बाटो हुँदै स्वागत गर्ने तर क्रान्तिकारीहरु बाध्यताले देश निकाला भएकोमा क्रिसमसमा केक काट्नेहरुबाट पछिल्लो क्रान्तिका उपलब्धिहरु अपहरित भएका छन् । के ति अपहरणकर्ताहरु बिरुद्ध बोल्नु यो युगको आवश्यकता होइन ? फागुन १ वा फेब्रुअरी १३ को संदेश यो पच्चीस बर्ष पछी पनि यहि हो कि क्रान्तिका अपहरणकर्ताहरु बिरुद्ध निरन्तर आवाज जारी राखौं । शान्ति र अन्यायको पक्षको हाम्रो आवाजले उनीहरुको स्वर्गमा खैलाबैला मच्चिन्छ भने दुन्दुभी अझै जारि राखौं । के यो अहिलेको सत्य यहि होइनर ?

आन्दोलनको फुट र विभाजन गर्दै अप्राकृतिक एकतामा रमाउने र नयाँ संस्करणको राजतन्त्र बिरुद्ध आवाज उठाउनेलाई अझै पनि जेलमा कोच्ने प्रचलनलाई बैधानिक बनाइएको छ । अन्याय , भ्रटाचार र अशान्तिका बिरुद्ध शान्ति,न्याय र शिष्टाचार मार्फत अपुरा राजनीतिक मुद्दाहरुका लागि आवाज उठाउनेहरुको निवास जेल नै हो भने त्यो सत्य स्वीकार गर्न अर्को पुस्ता जन्मनु अनिवार्य छ । यदि (ओ–अ) प्रिय सतासीन लाल मित्रहरु तिमी बन्दुकले होइन बिबेकले शासित छौ भने र राजनैतिक नैतिकताको झिनो अंश बाँकी छ भने अघिल्लो राजतन्त्र देखि पछिल्लो तिम्रो राजतन्त्रसम्मका सबै झुठ्ठा मुद्धा माघ अन्तिम दिन अगेनामा जलाउ र फागुन १ मा निसर्त आममाफी सहित शान्तिका परेवा गणतन्त्रको नील गगनमा उड्न देउ ।
सलाम
महान नेपाली जनता
उसको अदम्य साहसको बिद्रोह
जो महान थियो ,
रहिरहने छ– यो ‘प्लानेट’ रहेसम्म ।
तिमीले,
क्रान्तिकारीका हत्याराहरुसंग
रोज ‘रोज’ साटीरहदा
र, उनिहरुसंगै प्रेम गर्ने ‘प्रपोज’ दोहोर्याउदै गर्दा
हामी भने बिर्सने छैनौं–
फेब्रुअरी १३ को आधिहुरी ,
तर बरु बिर्सने छौं १४ को भ्यालेन्टाइन ।

प्रतिक्रिया दिनुहोस
Advertisement