राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहमा ५ सय ९ जना क्याडेट दिक्षित

राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहमा ५ सय ९ जना क्याडेट दिक्षित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा राष्ट्रका लागि पहिलो आवश्यकता र प्राथमिकतामा रहेको बताएका छन् ।

राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीहरूलाई शुक्रबार ललिपुरमा दर्ज्यानी चिह्न प्रदान गदैं उनले राष्ट्र निर्माणमा राष्ट्रप्रति समर्पित र अनुशासित युवाको आवश्यकता रहेको बताए । उनले समाज र राष्ट्र निर्माणमा युवाहरूलाई ध्यान केन्द्रित गर्न पनि गरे ।

‘तपाईंहरूमाथि केवल आफ्ना अभिभावकहरूको मात्रै आशा र सपना निहित छैन, तपाईंका प्राध्यापक, नातेदार, समाज र राष्ट्रको पनि सपना र आशा छ । त्यसैले सर्वोत्कृष्ट समाज निर्माणका लागि यसै युवा अवस्थामा तपाईंहरूले आफ्नोे मनोबल उच्च गराउन आवश्यक छ,’ उनले भने, ‘हरेक युवाले आफूमा कुशल नेतृत्व क्षमताको विकास नैतिक आचरण र अनुशासनको परिपालना निश्चित गर्दै समाज र राष्ट्रप्रतिको आफ्नो कर्तव्य बुझ्ने र पूरा गर्ने कर्तव्यनिष्ठ नागरिक बन्न ध्यान केन्द्रित गर्छु ।’

प्रधानमन्त्री ओलीले देशमा स्थिर सरकार निर्माण भएको र यस सरकारले युवाहरूको चौतर्फी व्यक्तित्व विकासमा हरसम्भव सहयोग गर्न कटिबद्ध रहेको बताए ।

उनले युवाहरू एकजुट भई काम गरे जस्तोसुकै चुनौतीको सामना गर्न सक्ने उल्लेख गर्दै सबै युवालाई असल, सक्षम, दक्ष र सक्रिय व्यक्तित्व निर्माण गर्दै राष्ट्र सेवामा जुट्न सुझाए ।

उनले राष्ट्रिय सेवा दलबाट तालिम पाई सैनिक कला, नेपाली संस्कृतिको संरक्षण, परम्परालाई बचाउन र देशप्रति गौरव बढाउन दीक्षित भएका विद्यार्थीको भूमिका महत्त्वपूर्ण हुने बताए ।

राष्ट्रिय सेवा दलका संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले दलको सुदृढीकरण र जनस्तरसम्म पु¥याउन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नेपाली सेनाले नेपाल अधिराज्य भरिका विभिन्न निजी तथा सरकारी विद्यालयहरुमा अध्ययनरत छात्रछात्राहरु सहभागी गराई यो तालिम बि.सं. २०२२ बाट सञ्चालन गर्दै आईरहेको छ । सो क्रममा हालसम्म कुल ५१ ह्जार ३ सय ३२ जना क्याडेट छात्रछात्राहरुले सफलतापूर्वक उक्त तालिम हासिल गरिसकेका छन् ।

आजको उक्त दीक्षान्त कार्यक्रममा १२ वटा विद्यालयहरुका ५ सय ९ जना क्याडेट छात्रछात्राहरु दिक्षित भएका हुन् । राष्ट्रिय सेवा दलले शिक्षा मन्त्रालयसँगको समन्वयमा विद्यालय तथा विद्यार्थीहरु छनौट गरी एकसय दिनको तालिम संचालन गर्दै आएको छ ।

  

सोही अवसरमा सम्माननीय प्रधानमन्त्री के।पी। शर्मा ओलीले क्याडेटहरुलाई दर्ज्यानी चिन्ह प्रदान, शिल्ड तथा पुरस्कार वितरण, विद्यालयहरुलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा सेवादलका सह-संरक्षक एवं माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा, विभिन्न मन्त्रालयका सचिवहरु, मित्रराष्ट्रका सैनिक सहचारीहरु, सुरक्षा निकायका उच्च पदस्थ अधिकृतहरु, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरु लगायत सम्बन्धित विद्यालयका शिक्षक र अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

यस किसिमको तालिमबाट क्याडेट छात्ररछात्राहरुको मानसिक र वैचारिक परिपक्‍वता तथा नेतृत्व विकास क्षमतामा अभिवृद्धि भई राष्ट्रपति समर्पित असल नागरिक निर्माणमा थप टेवा पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।