तीन दरबन्दीका लागि ७ जना प्रतिस्पर्धामा, को बन्ला एआईजी ?

तीन दरबन्दीका लागि ७ जना प्रतिस्पर्धामा, को बन्ला एआईजी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा ठाकुर ज्ञवालीलाई नियुक्त गरेपछि खालि रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदका लागि दौडधुप सुरु भएको छ ।

गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले आईजीपीमा ठाकुर ज्ञवालीलाई नियुक्त गरेपछि एआईजी पदका लागि तीन जनाको दरबन्दी खालि छ । तीन पदका लागि सातजना डीआईजी प्रतिस्पर्धामा छन् ।

गृह मन्त्रालयले एआईजी बढुवाको गृहकार्य सुरु गरेको बताए पनि सहज भने छैन । निवर्तमान आईजीपी सर्वेन्द्र खनाल, तीन एआईजी पुष्कर कार्की, धिरु बस्न्यात र ठूले राईसहित १७ डीआईजी मंगलबारबाट ३० वर्षे सेवाअवधीका कारण अवकाशमा गइसकेका छन् ।

१७ डीआईजी अवकाशमा रहेको अवस्थामा आठ जना डीआईजी भने कार्यरत थिए । आठजना डीआईजीमध्येबाटै ज्ञवाली आईजीपी बनेका हुन् । अब डीआईजीमा आईजीपीकै व्याचका तारणी लम्साल, सूर्य उपाध्याय छन् ।

३ जना एआईजीका लागि ७ जना डीआईजी प्रतिस्पर्धामा रहेका छन् । एआईजी दौडमा आईजीपीको दौडबाट बाहिरिने २ डीआईजीसहित विशेष ब्युरोका प्रमुख डीआईजी हरिबहादुर पाल, प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्री, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख निरज शाही, प्रदेश २ प्रमुख प्रद्युम्न कार्की र महानगरीय प्रहरी कार्यालयको प्रमुख डीआईजी विश्वराज पोखरेल एआईजीका दाबेदार हुन् ।
तारणी लम्साल हाल सुदुरपश्चिम प्रदेश प्रहरीको प्रमुख छन् भने सूर्य उपाध्याय प्रहरी प्रधान कार्यालयमा छन् । सबैले एआईजीका लागि लविङ तीव्र पारेका छन् । यस्तो अवस्थामा नयाँ आईजीपी एआईजीमध्येबाटै हुनेछ । त्यसैले लम्साल र उपाध्यायबाहेक पाँचजना सबै एआईजी वढुवाका लागि आफूअनुकूल लविङमा सक्रिय बनेका छन् ।

भावि आईजीपी एआईजीबाटै हुने सम्भावनाका कारण सरकार पनि आफूअनुकूल व्यक्तिलाई एआईजी बनाउन लाग्ने अवस्था रहेको एक उच्च प्रहरी अधिकारीको दाबी छ । डीआईजी क्षत्री, पाल, शाही र कार्की एआईजीमा वढुवा नभए उनीहरुमध्येबाटै आईजीपी हुने सम्भावना न्युन हुनेछ ।

तीन एआईजीले अपराध अनुसन्धान विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मानवस्रोत तथा प्रशासन विभाग सम्हाल्नेछन् । हाल डीआईजीले कमाण्ड गर्ने ५ प्रदेशमा एसएसपी मात्रै छन् ।