कोरोना भाइरस : एकैदिन स्पेनमा ९१३ र अमेरिकामा ५ सय बढीको मृत्यु


म्याड्रिड – कोरोना भाइरस(कोभिड-१९) को संक्रमणबाट स्पेनमा सोमबार मात्रै ९ सय १३ जनाको मृत्यु भएको छ । जनवरी ३० मा पहिलो संक्रमण पुष्टि भएयता स्पेनमा एकैदिन सबैभन्दा बढी मृत्यु भएको हो । यसअघि हिजो स्पेनमा ८ सय ३८ जनाको मृत्यु भएको थियो ।

मंगलबार बिहानसम्म स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा स्पेनमा थप ७ हजार ७ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ । स्पेनमा अहिलेसम्म ८७ हजार ९ सय ५६ जनामा संक्रमण देखिएको छ भने करिब १४ हजार संक्रमित निको भएका छन् ।

त्यस्तै इटालीमा पनि पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ । सोमबार इटालीमा ८१२ जनाको मृत्यु भएको छ । इटालीमा आइतबार भने ७५६ जनाको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा इटालीमा थप ४ हजार ५० जनामा संक्रमण देखिएको छ । अघिल्लो दिनको तुलनामा संक्रमितको संख्या भने करिब एक हजारले घटेको छ । मंगलबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९१ पुगेको छ । त्यस्तै इटालीमा संक्रमितको संख्या एक लाख एक हजार ७ सय ३९ पुग्दा निको हुनेको संख्या करिब १४ हजार रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा ५७३ जनाको मृत्यु भएको छ भने थप १९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । मंगलबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार एक सय ५६ पुगेको छ । त्यस्तै संक्रमितको संख्या एक लाख ६३ हजार रहेको छ । अमेकिारमा करिब ५ हजार ५ सय जना निको भएका छन् ।

त्यस्तै सोमबार फ्रान्समा पनि गत जनवरी २३ मा पहिलो संक्रमण देखिएयताकै सबैभन्दा बढी ४१८ जनाको मृत्यु भएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ७६ जनामा संक्रमण देखिएको छ । मंगलबार बिहानसम्म फ्रान्समा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ ।यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement