चिनिया राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री दाहाललाई नभेट्ने लगभग निश्चित


 

रोशन खड्का
काठमाण्डौ– दोस्रो पटक प्रधानमन्त्री बनेपछि पहिलो चीन भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चिनिया राष्ट्रपति सी चिनफिङसंग भेटवार्ता हुने सम्भावना लगभग अन्त भएको छ । चिनिया उच्च स्रोतले दिएको जानकारीअनुसार चिनिया राष्ट्रपति सी प्रधानमन्त्री दाहालसंग भेट्न इच्छुक नदेखिएपछि प्रधानमन्त्रीको चीन भ्रमण नै अनिश्चीत भएको हो ।

“प्रधानमन्त्री दाहालको राष्ट्रपति सिसंगको वान टु वान मिटिङ लगभग असम्भव भइसकेको छ, चीन भ्रमण गर्ने वा नगर्ने भन्ने कुरा प्रधानमन्त्रीको हातमा छ ।” चिनिया उच्च स्रोतले मुलधारलाई भन्यो ।

स्रोतकाअनुसार एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढलेपछि चिन प्रधानमन्त्री दाहालप्रती खुसी छैन् । “दाहाल प्रधानमन्त्री भएपछि राष्ट्रपति सी त्यती खुसी छैनन्, विगतमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुदा गरिएको सहयोग पनि खेर गएको चिनिया वुझाई छ । ” स्रोतले भन्यो ।
सत्तारुढ दल नेपाली कांग्रेस र एमाओवादीविच पालै पालो नौ महिना प्रधानमन्त्री चलाउने सहमती भएकाले पनि चिनिया पक्ष प्रचण्डसंग कुनै पनि ठुलो सम्झौता नगर्ने मुडमा रहेको छ ।

“विगतमा पनि ओलीसंग भएका सम्झौता लागु भएन्, यसपटक पनि प्रधानमन्त्री परिवर्तन हुने लगभग निश्चित छ ,त्यसैले पनि चिनिया पक्षले भ्रमणलाई ठुलो महत्व दिएको   देखिदैन ।” चिनिया स्रोतले भन्यो ।

चीनको हाईनान प्रान्तमा मार्च २३ देखि २६ सम्म  हुने बोआओ फोरममा सहभागी हुन प्रधानमन्त्री चीन भ्रमणमा जाने तयारीमा रहेको वेला चिनवाट यस्तो सन्देश आएपछि प्रधानमन्त्रीको भ्रमणबारे पनि अन्यौलता छाएको छ ।   प्रधानमन्त्री दाहालका चिनिया समकक्षी  लि कचियाङ पनि दाहालको चिन भ्रमणको बेला बेइजिङ वाहिर रहने भएकाले प्रधानमन्त्रीले को संग वार्ता गर्ने भन्ने विषयले पनि अन्यौलता छाएको छ ।

बोआओ फोरमको उद्घाटन यसपटक राष्ट्रपति सीले गर्ने कार्यक्रम भएकाले त्यसमा प्रधानमन्त्री दाहालसंग भेट हुने सम्भावना भएपनि औपचारीक वार्ता भने लगभग सकिएको वेइजिङस्थित उच्च स्रोतले दावी गरेको छ ।

प्रधानमन्त्रीले बोआओ फोरममा सहभागी हुन जानुअघि वेइजिङमा द्धिपक्षीय वार्ता गर्ने  चाहना राखेपनि चिनिया पक्षको व्यस्तताले प्रधानमन्त्रीको चाहना पुरा नहुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement