जेनजी आन्दोलनपछि पहिलोचोटि युरोपियन युनियनका २० राजदूत नेपालमा

जेनजी आन्दोलनपछि पहिलोचोटि युरोपियन युनियनका २० राजदूत नेपालमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डू– भारतको नयाँदिल्लीबाट नेपाल हेर्ने युरोपियन युनियन (ईयू) आबद्ध करिब २० देशका गैह्रआवासीय राजदूत तथा मिसन प्रमुख काठमाण्डू आएका छन् ।

गत २३ र २४ भदौको जेनजी आन्दोलनपछि यति ठूलो संख्यामा युरोपेली युनियनका राजदूतहरु नेपाल आएको यो पहिलोचोटि हो ।
नेपाल हेर्ने दिल्लीस्थित युरोपियन युनियनका मुलुकहरु इटाली, स्पेन, नेदरल्याण्डस्, बेल्जियम, स्वीडेन, अष्ट्रिया, पोल्याण्ड, चेक रिपब्लिक, पोर्चुगल, ग्रिस, आयरल्याण्ड, रोमानिया, हंगेरी, स्टोनिया लगायत देशका राजदूत आइतबार काण्माडू ओर्लिएका हुन् ।

‘युरोपियन युनियन डेलिगेट्स’ को नियमित बैठकमा सहभागी हुन उनीहरु आइतबार काठमाण्डू उत्रिएका हुन् । बैठकमा युरोपियन युनियन, जर्मनी, फ्रान्स र फिलन्याण्डका भने आवासीय राजदूत सहभागी हुनेछन् ।


वर्षमा एकपटक काठमाण्डूस्थित आवासीय राजदूत र दिल्लीस्थित गैह्रआवासीय राजदूत तथा मिसन प्रमुखहरुको बैठक नेपालमा हुने गरेको छ । नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोको संयोजनमा सोमबार र मंगलबार हुनेछ ।

नेपालको पछिल्लो राजनीतिक, आर्थिक र सामाजिक अवस्था तथा नेपालको विकासमा युरोपेली संघले गरेको सहयोगलगायत विषय बैठकका एजेण्डा छन् ।

नेपालको पछिल्लो मानव अधिकारको अवस्था राजनीतिक स्थायित्व, आर्थिक विकास तथा सुशासनका लागि भएका सहकार्य लगायत विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । यस्तै बैठकमा नेपालमा युरोपेली मुलुकका दूतावासहरुले गरिरहेका कामबारे समेत समीक्षा हुनेछ ।


बैठकपछि युरोपेली युनियनको प्रतिनिधि मण्डलले पर्यटन सम्बद्ध संस्थाहरु नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान), होटल संघ नेपाल (हान), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा) लगायतका प्रतिनिधिसँग बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा छलफल गर्ने कार्यक्रम छ ।


नेपालको आर्थिक–सामाजिक विकास प्रयासमा युरोपियन युनियनले लामो समयदेखि साथ दिँदै आएको छ । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, मानव अधिकार र हरित ऊर्जाजस्ता क्षेत्रमा नेपाललाई सघाउँदै आएको संघले पछिल्लो समय जलवायु परिवर्तनको एजेण्डामा चासो राख्दै आएको छ ।