काठमाण्डु– सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले नेपाली घ्यूको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने क्रममा दुबईमा बिक्री सुरु गरेको छ ।
डीडीसीले शुक्रबार पहिलो खेप ६ सय किलो घ्यू दुबई पठाएको हो । दुबईमा रहेका नेपाली उपभोक्तालाई लक्षित गरी त्यहाँका बिक्रेतामार्फत घ्यू बिक्री गरिने संस्थानले जनाएको छ ।
यसका लागि डीडीसीले रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग सहकार्य गरेको छ । सुरुवाती चरणमा बजारको माग र उपभोक्ताको प्रतिक्रिया अध्ययन गर्ने गरी सीमित परिमाणमा उत्पादन पठाइएको हो ।
बजारमा माग बढ्दै गए निर्यातको मात्रा विस्तार गर्ने डीडीसीको योजना छ । पहिलो खेप हवाईमार्गबाट पठाइए पनि आगामी दिनमा भारतको बाटो हुँदै कन्टेनरमा ठूलो परिमाणमा घ्यू पठाउने तयारी संस्थानले गरेको छ ।
दुबईलाई आधार बनाएर मध्यपूर्वका अन्य बजारमा समेत घ्यू तथा अन्य दुग्धजन्य वस्तु पुर्याउने लक्ष्य डीडीसीले लिएको जनाएको छ ।




प्रतिक्रिया