धितोपत्र बोर्डका अध्यक्ष र ब्रोकरबीच छलफल, पुँजी बजारलाई उचाइमा पु-याउने सहमति

धितोपत्र बोर्डका अध्यक्ष र ब्रोकरबीच छलफल, पुँजी बजारलाई उचाइमा पु-याउने सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ब्रोकर एसोसिएनका प्रतिनिधिले धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टसँग भेटेर आफ्ना सरोकारहरुबारे ध्यानकर्षण गराएको छ ।

बिहीबार भएको भेटका क्रममा अध्यक्ष भट्टले पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउन आफू प्रतिबद्ध रहेको बताए ।

बजेट तथा नीति–कार्यक्रममा उल्लेख गरिएका उद्देश्य र प्राथमिकताअनुसार पुँजी बजारको विकास, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक पहल गर्ने भट्टको प्रतिबद्धता थियो ।

पुँजी बजारको विकास र स्थायित्वका लागि बोर्ड, धितोपत्र व्यवसायी, सूचीकृत कम्पनी र लगानीकर्ताबीच सहकार्यमा जोड दिने नीति लिइने उनको भनाइ थियो ।

सुशासन कायम गर्ने, लगानीकर्ताको हित संरक्षण गर्ने र आधुनिक प्रविधिको अधिकतम प्रयोगमार्फत पुँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउने काममा बोर्डको ध्यान गएको बताए ।

ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले अध्यक्ष भट्टलाई कार्यकाल सफलताको शुभकामना दिँदै बजारको विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि र नीतिगत एवं संरचनागत सुधारका क्षेत्रमा कदम चाल्न आग्रह गरे ।

भेटमा सरकारको बजेटले पूँजी बजारको विकासका लागि तय गरेका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, बजार सुधार, नयाँ वित्तीय उपकरणको विकास, लगानीकर्ता शिक्षा, प्रविधिमैत्री सेवा विस्तार तथा समग्र पुँजी बजारको संस्थागत सुदृढीकरणका विषयमा छलफल भएको एसोसिएसनले जनाएको छ ।