८८१ थान भेप र ६ लाख नगदसहित ५ पक्राउ

८८१ थान भेप र ६ लाख नगदसहित ५ पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र नगदसहित ५ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले कागेश्वरी मनोहरा नगगरपालिका–८ बागमती करिडोरमा सवारी चेकजाँचका क्रममा ८८१ थान भेप र नगदसहित ५ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

कागेश्वरी मनोहरा–९ बस्ने २१ वर्षीय आदेश खड्का र १८ वर्षीय सौजन सिम्खडा, रसुवा चिलिमे गाउँपालिका–५ बस्ने २३ वर्षीय आकाश तामाङ, सोही स्थानका २० वर्षीय अर्जुन तामाङ र ललितपुरको बागडोल बस्ने ३२ वर्षीय चिनियाँ नागरिक लिउ वेट पक्राउ परेका परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

सवारीसाधनमा हिँडिरहेका निजहरूलाई चेकजाँच गर्ने क्रममा उक्त परिणामको भेग र नगदसहित नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार सामान फेला परेसँगै प्रहरीले बागडोलस्थित चिनियाँ नागरिकको कोठासमेत खानतलासी गरेको छ ।

निजहरूसँग ८८१ थान भेप, ६ लाख, ४ थान चाँदी जस्तो देखिने धातुको हात्तीका मूर्ति, ५०३ चिनियाँ युआन, १० थान पावर बैंक, ३ थान मोबाइल, ४६ बट्टा चिनियाँ चुरोट, २ थान विलबुक, १ थान ल्यापटप, १ थान सिपियु, १ थान डायरी र १ थान प्रिन्टर बरामद गरेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए ।

पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको प्रहरीले जनाएको छ ।