नेपालमा लगानी गर्न विदेशी उद्यमीलाई उपराष्ट्रपति पुनको आह्वान


काठमाण्डौ – उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र चीनबीचका साझा प्राथमिकताका योजनालाई कार्यान्वयनमा लान बेल्ट एन्ड रोड इनिसियटिभ्स ९बिआरआई० सहयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

उनी आज चीनको लान्झाउमा भइरहेको लगानी तथा व्यापार मेलाको उद्घाटन कार्यक्रममा ‘रेशम मार्गमा सहयोग र विकास’बारे संभाषण दिँदै थिए ।

नेपाल र चीनलाई सीमा नाकाले जोड्ने र बिआरआईमा सहभागी राष्ट्रहरुबीच लगानी अभिवृद्धि, प्रविधि हस्तान्तरण, दीर्घकालीन सहयोग आदानप्रदानबाट आर्थिक रुपान्तरणका लागि प्राकृतिक स्रोतको उपयोग गर्ने एक अवसरका रुपमा बिआरआईलाई लिइएको उनले स्पष्ट पारे ।

बिआरआईमा समाहित राष्ट्रहरुका उद्यमीहरुलाई नेपालमा लगानी गर्न र मुनाफा कमाएर लान पनि उनले आह्वान गरे ।

उपराष्ट्रपति पुनले सन् २०१७ लाई चीनमा नेपाल पर्यटन प्रवद्र्धन वर्ष घोषणा गरेकामा चिनियाँ सरकारलाई धन्यवाद दिए । यो अभियानलाई सफल बनाउन चिनियाँ जनतालाई नेपाल भ्रमणमा जान उत्प्रेरणा दिन पनि उनले चिनियाँ सरकारसँग आग्रह गरे ।

सबै साझेदारहरुको एकीकृत प्रयासबाट बिआरआईका सम्भाव्यताहरुलाई मूर्त रुप दिन नेपाल प्रतिबद्ध रहेको विश्वास पनि उनले दिलाए ।

आज बिहान गान्सु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उपराष्ट्रपति पुनले गान्सु प्रान्तका गभर्नर ताङ रेन्जियाङसँगै नेपाल कक्षको उद्घाटन गरेको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उक्त व्यापार मेलामा १३ नेपाली व्यापारिक कम्पनीले १६ वटा बिक्री कक्ष सञ्चालन गरेका छन् । मेलामा ३६ राष्ट्र र दुई अन्तरसरकारी सङ्गठनले भाग लिइरहेका छन् । रासस
 

प्रतिक्रिया दिनुहोस
Advertisement