निर्मला हत्याकाे अनुसन्धान गर्न सिआइबी टाेली कञ्चनपुरमा


काठमाडाैं–  निर्मला पन्तको हत्या अनुसन्धानमा सघाउन केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले चार सदस्यीय टाेली कञ्चनपुर पठाएकाे छ । सिअाइबीले एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वमा ४ सदस्यीय टोली कञ्चनपुर पठाएको छ । टोलीमा डिएसपी कमल थापा र अन्य २ जना जुनियर अफिसर रहेका छन् ।

घटना भएकाे एक महिना बितिसक्दा पनि सत्यतथ्य पत्ता लगाउन नसकेपछि सिअाइबीले एसएसपी ज्ञवालीकाे नेतृत्वकाे टाेली खटाएकाे हाे । यसअघि सिआइबीले डिएसपी अंगुर जिसीको नेतृत्वमा एक टोली कञ्चनपुर पठाएको थियो । तर जिसी नेतृत्वको टोलीले गरेको अनुुसन्धानमा नागरिक विश्वस्त हुन नसक्दा आन्दोलन चर्किएको थियो ।

कञ्चनपुर प्रहरी र जिसीको टोलीले बलात्कारपछि हत्यामा संलग्न रहेको भन्दै भीमदत्त नगरपालिका–१९ का ४१ वर्षीय दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । विष्टलाई अभियुक्त भनि सार्वजनिक गरेपछि स्थानीयले प्रहरीकाे अनुसन्धानमा प्रश्न उठाएका थिए ।

मुख्य अभियुक्त भनिएका दिलिपसिंह मानसिक अबस्था कमजाेर भएकाे व्यक्ति देखाएर दाेषीलाई उम्काउन खाेजेकाे भन्दै स्थानीयले अान्दाेलन गरे । अान्दाेलन चर्किएपछि प्रहरीले गाेली चलाउँदा एक जनाकाे ज्यान गएकाे थियाे ।कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख दिल्लीराज विष्ट निलम्बनमा परेका थिए ।

डिएसपीको अनुसन्धान विवादमा तानिएपछि सिआइबीले एसएसपीको नेतृत्वमा टोली कञ्चनपुर पठाएको हो । स्रोतका अनुसार डिएसपी जिसी नेतृत्वको टोलीले यसअघि गरेको अनुसन्धानमा नागरिकको आशंका किन उठ्यो भन्ने पनि एसएसपी ज्ञवालीको टोलीले अध्ययन गर्नेछ ।
टोलीले कञ्चनपुर प्रहरीलाई अनुसन्धानमा सघाउने सिआइबीले जनाएको छ ।  गत साउन १० गते साथीको घरमा जान भनेर निस्किएकी निर्मला ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धान र स्वास्थ्य परीक्षणबाट पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement