नेकपा प्रमुख सचेतक दुलालले गराए गुठी जग्गा र बाँदर आतंकबारे सरकारको ध्यानाकर्षण

नेकपा प्रमुख सचेतक दुलालले गराए गुठी जग्गा र बाँदर आतंकबारे सरकारको ध्यानाकर्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रमुख सचेतक युवराज दुलालले गुठी जग्गासँग जोडिएका किसानका समस्या र ग्रामीण क्षेत्रमा बढ्दो बाँदर आतंक नियन्त्रणका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष बोल्दै दुलालले गुठी व्यवस्थाका कारण लामो समयदेखि जग्गा जोतभोग गर्दै आएका किसानहरू अधिकारविहीन अवस्थामा रहेको बताए ।

उनले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण आवश्यक भए पनि त्यसको भार वास्तविक किसानमाथि पर्न नहुने उल्लेख गरे । गुठीका नाममा रहेका जग्गामा वर्षौँदेखि खेती गर्दै आएका किसानले स्वामित्व र उपयोगसम्बन्धी समस्या भोगिरहेको दुलालको भनाइ थियो ।

सिन्धुपाल्चोकको फटकशिला क्षेत्रको अवस्था उल्लेख गर्दै दुलालले पशुपति महास्नान गुठीसँग जोडिएका जग्गाका कारण स्थानीय किसानले लामो समयदेखि समस्या खेप्दै आएको बताए ।

उनका अनुसार सिन्धुपाल्चोकमा मात्रै हजारौँ परिवार गुठी जग्गाबाट प्रभावित छन् । किसानका समस्या समाधान गर्न सबै पक्षसँग छलफल गरी सरकारले गुठीसम्बन्धी कानुन ल्याउनुपर्ने उनले माग गरे ।

दुलालले गुठी जग्गाको स्वामित्व नहुँदा किसानहरू आर्थिक गतिविधिमा समेत समस्यामा परेको बताए । जग्गा धितो राखेर ऋण लिनेदेखि हक हस्तान्तरणसम्मका काम गर्न नसक्ने अवस्था रहेको उनले उल्लेख गरे ।


‘‘विगतमा किसानहरूले ३५ किलोमिटर भारी बोकेर पशुपतिसम्म जिन्सी बुझाउनुपर्ने बाध्यता थियो’, दुलालले भने, ‘हाल सो गुठी सञ्चालनमा नभए पनि किसानले जग्गाको स्वामित्व पाएका छैनन् ।। जसका कारण उनीहरूले न बैंकबाट कर्जा लिन सक्छन्न । न त हक हस्तान्तरण नै गर्न सक्छन्,’ दुलालले भने ।

बाँदर आतंकका कारण देशभरका किसान प्रभावित भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी नीति बनाउनुपर्नेमा दुलालले जोड दिए ।

उनले बाँदरले बाली नष्ट गर्दा किसानको उत्पादन र आम्दानी दुवैमा असर परेको उल्लेख गर्दै कृषि क्षेत्रको संरक्षणका लागि दीर्घकालीन समाधान आवश्यक रहेको बताए ।

‘किसानहरू बिहानदेखि बेलुकासम्म गुलेली बोकेर बाँदर धपाउनै व्यस्त हुनुपर्ने अवस्था छ’, दुलालले भने, ‘यो देशलाई कृषिप्रधान बनाउने हो भने बाँदर नियन्त्रण अपरिहार्य आवश्यकता भइसकेको छ ।’