पन्ध्र वर्षपछि बंगलादेशमा भुटानविरुद्ध खेल्दै नेपाल


ढाका – साफ च्याम्पियनसिप २०१८ अन्तर्गत समूह ए को नेपाल र भुटानबीचको खेल शुरु भएको छ । नेपालको यो दोस्रो खेल हो । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा खेल शुरु भएको हो ।

दुई समूहमा बाडिएका सात टोलीमध्ये प्रत्येक समूहका दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछन्। समूह एमा समान ३ अंकका साथ पाकिस्तान र बंगलादेश शीर्ष दुईमा छन्। यस्तोमा भुटान र नेपालका लागि आज जित्दै तीन अंक बटल्नु महत्वपूर्ण छ।

साफ च्याम्पियन्ससिपको इतिहासमा नेपाल भुटानमाथि पुरै हावी छ। पहिलोपटक सन् २००३ मा ढाकामा भएको साफमा दुईबीच भएको प्रतिस्पर्धामा नेपालले भुटानलाई २–० ले पराजित गरेको थियो। बंगलदेशमा नै १५ वर्षपछि आज पुनः साफमा भुटानको सामना गर्दा नेपालको लक्ष्य जितमा ह्याट्रिक गर्दै सेमिफाइनल सम्भावना रहनेछ।

भुटानविरुद्ध साफमा अर्को जित पाकिस्तानको कराचीमा सन् २००५ मा आएको थियो। त्यसबेला भुटानलाई नेपाले ३ – १ ले पराजित गरेको थियो। अर्थात नेपाल भुटानसँग समग्रमा पनि आजसम्म हारेको छैन्। नेपालले मंगलबार स्थानिय शेखकमल मैदानमा अभ्यास गरेको थियो।

नेपाल आज नियमित कप्तान विराज महर्जनको नभएर गोलकिपर किरण लिम्बूको कप्तानीमा मैदानमा उत्रिएको छ । किरणको यो नेपाली राष्ट्रिय टीमका लागि पहिलो पटक कप्तानी हो ।

नेपालले पहिलो खेलमा पाकिस्तानसँग २–१ ले हारेको थियो। सेमिफाइनल पुग्नको लागि नेपालले भुटानलाई जित्नै पर्नेछ। साफ च्याम्पियनसिपमा यसअघि नेपालले भुटानसँग २ खेल खेलेको छ। जसमा दुईवटै खेलमा नेपाल विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement