​पूर्वप्रधानन्यायाधीश राणा प्रकरण : विवादास्पद व्यवसायी दीपक भट्टलाई नख्खुबाट सिन्धुपाल्चोक सारियो

​पूर्वप्रधानन्यायाधीश राणा प्रकरण : विवादास्पद व्यवसायी दीपक भट्टलाई नख्खुबाट सिन्धुपाल्चोक सारियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

​काठमाण्डु– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउ प्रकरण र उनीसँग जोडिएका शक्ति समूहका गतिविधि चर्कंदै जाँदा कारागार प्रशासनले नयाँ कदम चालेको छ।

ललितपुरको नख्खु कारागारमा थुनामा रहेका विवादास्पद व्यवसायी दीपक भट्टलाई ललितपुरबाट सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको छ।

​कारागार कार्यालय नख्खुले शुक्रबार सिन्धुपाल्चोक कारागारलाई पठाएको पत्रअनुसार कारागार व्यवस्थापन विभागको च.नं. ६२८ को निर्णय बमोजिम बन्दी भट्टलाई सक्कल फाइल र आवश्यक कागजातसहित सुरक्षा घेरामा स्थानान्तरण गरिएको हो।

​राणा, भट्ट र अग्रवालको ‘कनेक्सन’

​स्रोतका अनुसार, पूर्वप्रधानन्यायाधीश राणासँग जेलभित्रैबाट व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको निरन्तर सम्पर्क रहेको देखिएको छ । जसले सरकारविरोधी गतिविधिमा उनीहरूको संलग्नता रहेको आशंकापछि सरकारले भट्टलाई सिन्धुपाल्चोक सार्ने निर्णय गरेको हो।

​यसैबीच, नेपाल प्रहरीको विशेष ब्युरोले पूर्वप्रधानन्यायाधीश राणासँग निकट रहेर विभिन्न कार्यमा सहयोग पुर्‍याएको आरोपमा बूढानीलकण्ठ घर भई हाल पानीपोखरी बस्दै आएका इनाम सापकोटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ।

गत बुधबार दिउँसो २ बजे नयाँ दिल्ली हुँदै दुबई जान लागेका सापकोटालाई पक्रेर सोधपुछ तथा मोबाइल चेकजाँच गरी पछि छाडिएको छ।

​बयानका क्रममा सापकोटाले दिएको तथ्य र सूचनाका आधारमा राणा, जेलमा रहेका व्यवसायी भट्ट र सुलभ अग्रवालबीच  निरन्तर सम्पर्क भइरहेको निष्कर्षमा प्रहरी पुगेको छ।

​कुन मुद्दामा थुनामा थिए भट्ट?

​नख्खु कारागारका अनुसार (बन्दी आई.डी. ८४७३६१७) दीपक भट्ट सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार, र बैंकिङ कसूर (मुद्दा नं. ०८२-सीआर-०१५४, ०८२-सीबी-००४९) अन्तर्गत पुर्पक्षका लागि थुनामा रहँदै आएका थिए।

कारागार प्रशासक दीर्घराज उपाध्यायले उनलाई सुरक्षाका साथ सिन्धुपाल्चोक बुझाइ भर्पाई पठाउन भनिएको छ।