काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफू सुशासन कायम गर्न व्यवहारबाटै प्रतिबद्ध रहेको बताएका छन् ।
मन्त्रालयको वार्षिक राजश्व समीक्षा बैठकमा सोमबार वाग्लेले आफूले एक जना मात्र सल्लाहकार राखेको बताए ।
आफूले राखेका राजश्व सल्लाहकार पनि अवैतनिक (तलब सुविधा नलिने) राखेको उनको भनाइ थियो ।
यद्यपि उनले प्रधानमन्त्री कार्यालयसहित अरु मन्त्रालयमा धेरै सल्लाहकार राखिएको उल्लेख गरे ।
‘तपाईंहरुले अहिले सुनिराख्नुभएको छ । प्रधानमन्त्री कार्यालयमा २७ जना सल्लाहकार, ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार’, उनले भनेका छन्, ‘मैले एक जना मात्र सल्लाहकार राखेको छु । अवैतनिक राजश्व सल्लाहकार । भनेपछि राजश्वको विषयलाइ मैले कति महत्व दिएको छु भन्ने कुरालाई यहाँहरुले बुझ्नुहोला ।’
वाग्लेले जनताबाट संकलन गरिएको राजश्व दुरुपयोग गर्न नहुनेमा आफू सचेत रहेको पनि बताए । प्रधानमन्त्री बालेन्द्र शाहले आफूले २७ सल्लाहकार नियुक्त गरेको जानकारी संसदलाई गराएका थिए ।
प्रमुख प्रतिपक्षी कांग्रेस सांसद सीता थपलिया (उर्मिला) सोधेको लिखित प्रश्नको जवाफ संसद् सचिवालयमा पठाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले केही दिनअघि प्रधानमन्त्री शाहले मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहलाई मन्त्री सरह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रले राज्यमन्त्री सरह सुविधा पाउने गरी नियुक्ति दिइएको स्पष्ट गरेको थियो ।




प्रतिक्रिया