काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सुरक्षा ‘प्रोटोकल’ बेवास्ता गरेर हिंड्ने गरेको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हालै मुस्ताङ भ्रमणमा जाँदा प्रधानमन्त्रीबाट विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी प्रोटोकल उल्लंघन भएको बताए । प्रधामनन्त्रीको निजी जीवन हुने भए पनि सार्वजनिक जीवनबाट कहिल्यै अलग हुन नसक्ने तर्क दुलाले गरे ।
प्रधानमन्त्री बालेन आफैं सवारी हाँकेर भ्रमणमा गएकोतर्फ उनको संकेत थियो ।
दुलालले प्रधानमन्त्रीको सुरक्षा संवेदनशीलतामा गम्भीर हुन सम्बन्धित मन्त्रालय र सुरक्षा निकायको समेत ध्यानाकर्षण गराए । प्रधानमन्त्री देशभित्र जहाँ पुग्छन्, त्यही स्थान सरकारको मुख्यालयसरह हुने भएकाले सुरक्षा व्यवस्था र राज्यका स्रोत–साधनको प्रयोगमा गम्भीरता अपनाउनुपर्ने तर्क उनको थियो ।
‘सरकारबिनाको राज्य र प्रधानमन्त्रीबिनाको सरकारको कल्पना एक मिनेट पनि गरिएको हुँदैन । निजी जीवन भए पनि प्रधानमन्त्री सार्वजनिक पदबाट कहिल्यै मुक्त भएको मानिँदैन,’ दुलालले भने ।
प्रधानमन्त्रीले आफ्नो यात्रा तथा कार्यसम्पादन गर्दा भीभीआईपी सुरक्षा प्रोटोकल पालना गर्नुपर्नेमा जोड दिँदै उनले रक्षामन्त्री, गृहमन्त्री र सम्बन्धित सुरक्षा निकायसँग त्यसबारे जवाफ मागे ।
‘भीभीआईपीको सुरक्षा प्रोटोकल के हो ? म रक्षामन्त्री, गृहमन्त्री र सम्बन्धित सुरक्षा निकायहरूलाई प्रश्न गर्न चाहन्छु, जवाफ पाइयोस्,’ उनले भने ।
यसैगरी देशमा बढिरहेका बलात्कार तथा हत्याका घटनाप्रति संसद नै भावविह्वल बनेको भन्दै दुलालले घटना भएपछि मात्रै प्रतिक्रिया जनाउनेभन्दा घटना हुनुअघि नै राज्यले सावधानी र रोकथामका उपाय प्रभावकारी बनाउनुपर्ने माग गरे ।
उनले बालिका तथा महिलामाथि हुने हिंसा रोक्न राज्यको अग्रसरतामा ‘छोरी बचाउ राष्ट्रिय अभियान’ सञ्चालन गर्नसमेत माग गरेका छन् ।




प्रतिक्रिया