राप्रपाकी सांसद खुश्बु ओलीले प्रधानमन्त्री कार्यालयका सल्लाहकार तथा सहयोगीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीलाई करिब नौ घण्टासम्म नियन्त्रणमा राखेको विषयमा स्पस्टीकरण माग गरेकी छन्
शुक्रबार प्रतिनिधि सभामा बोल्दै उनले यदि उक्त समाचार असत्य हो भने सरकारले तत्काल खण्डन गर्नुपर्ने बताइन्।
यस्तै यदि सत्य भए सो संवैधानिक निकायको स्वतन्त्रतामाथि प्रत्यक्ष हस्तक्षेप भएको ठहरिने बताइन्।
‘यदि यो समाचार असत्य हो भने सरकारले त्यसको खण्डन तत्काल गर्नुपर्छ। यदि सत्य हो भने यो एउटा संवैधानिक निकायको स्वतन्त्रतामाथि गरिएको प्रत्यक्ष हस्तक्षेप भएको छ,’ उनले भनिन् , ‘नयाँको नजिर के यही नै हो त? यति मात्र होइन, नेपालको दशकौँदेखिको प्रयासबाट निर्माण भएको कूटनीतिक प्रतिष्ठामाथि समेत आघात पुगेका समाचारहरू आएका छन्। कूटनीतिक नियोगका प्रतिनिधिको मर्यादामाथि प्रश्न उठ्ने गरी व्यवहार भएको भनिएको छ। यस्तो व्यवहारले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि र विश्वसनीयतालाई कहाँ पुर्याउँछ?’
ओलीले सरकारको विदेश नीति र कूटनीतिक संस्कार कुन दिशातर्फ उन्मुख हुँदैछ भन्ने प्रश्न समेत उठाइन्।
त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि विभिन्न मन्त्रालयसम्म निजी सचिवालयको प्रभाव र हस्तक्षेप अस्वाभाविक रूपमा बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरिन्।
उनका अनुसार स्थायी प्रशासनिक संयन्त्रको भूमिकामाथि अनौपचारिक शक्ति केन्द्र हाबी हुँदै गएको अनुभूति बढेको छ। जसले संस्थागत स्मृति, प्रशासनिक निरन्तरता र संस्थागत स्थायित्वमाथि नै प्रश्न उठाएको छ।




प्रतिक्रिया