काठमाण्डु– रसुवा बाढीपछि राहत, उद्धार र पुनःस्थापनाका लागि सरकारको प्रयास पर्याप्त नभएको भन्दै एमालेले सरकारमाथि प्रश्न उठाएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले विपद्को अवस्थामा सरकारले उपलब्ध स्रोत र जनशक्तिको समेत पूर्ण उपयोग गर्न नसकेको बताइन् ।
राजनीतिक दल, विज्ञ, र अन्तर्राष्ट्रिय समुदायको सहयोग लिनुपर्ने पर्नेमा सरकारले निश्चित निकाय र श्रोतमा भर परेर विपत्तिको सामना एक्लैले गर्न खोज्नुभन्दा गम्भीर गल्ती भएको उनको भनाइ थियो ।
उनले बाढीपछि सरकारले तत्कालै सार्वजनिक आह्वान गरेर सहयोग जुटाउनुपर्ने, अन्तर्राष्ट्रिय समुदायसँग कूटनीतिक पहल गर्नुपर्ने तथा देशभित्र उपलब्ध विज्ञ जनशक्तिलाई परिचालन गर्नुपर्ने भए पनि ती काममा सरकार चुकेको आरोप लगाइन् ।
‘सरकारले तत्काल सार्वजनिक आह्वान, अनुरोध, कूटनीतिक पहलमार्फत सहयोग माग गर्नुपर्थ्यो । हामी यहाँ चुक्यौं,’ अर्यालले भनिन् ।
विपद् व्यवस्थापनमा विश्वविद्यालय तथा क्याम्पसमा रहेका इन्जिनियर र अन्य विज्ञको विशेषज्ञता उपयोग गर्न सकिने भए पनि सरकारले त्यसतर्फ आवश्यक पहल नगरेको उनको भनाइ छ ।
अर्यालले विपद्पछि सरकारले सबै राजनीतिक दललाई साथमा लिएर आगामी रणनीति तय गर्नुपर्ने बताइन् । त्यसका लागि तत्काल सर्वदलीय बैठक बोलाउनुपर्ने भए पनि सरकारले त्यस्तो पहल नगरेको उनको आरोप छ ।
उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई विपत्तिको समयमा सरकारको क्षमता प्रदर्शन गर्नेभन्दा सबै पक्षको सहयोग लिएर संकट सामना गर्न आग्रह गरिन् ।
‘सरकारले विपद्का अनुभवबाट शिक्षा लिँदै तत्काल सर्वदलीय बैठक राखेर छलफल गर्नुपर्थ्यो, त्यो पनि हुन सकेन,’ उनले भनिन् ।
प्रधानमन्त्रीलाई लक्षित गर्दै उनले सरकार एक्लैले सबै कुरा गर्न सक्छ भन्ने मानसिकता त्याग्नसमेत आग्रह गरिन् । ‘म भन्न चाहन्छु, यो विपत्तिको बेला म एक्लै काफी छु भन्ने घमण्ड नगर्नुस्,’ अर्यालले भनिन्, ‘प्रधानमन्त्रीज्यू देश र जनताको माया तपाईंलाई बढी र हामीलाई कम भन्ने हुन सक्दैन ।’
सरकारले गर्दै आएको कामलाई पूर्णतः अस्वीकार नगरे पनि विपत्तिको गम्भीरताअनुसार अझ धेरै काम गर्न सकिने उनको भनाइ थियो ।
‘यसो भन्दैगर्दा काम नै भएन भन्न खोजेको होइन । अझ बेसी गर्न सकिन्थ्यो,’ उनले भनिन् ।




प्रतिक्रिया