बैतडिको दशरथचन्दका मेयरलाई काम गर्न अदालतको अन्तरिम रोक


 

महेन्द्रनगर – उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले अर्को आदेश नहुँदासम्म दशरथ चन्द नगरपालिका बैतडीका मेयर नरेन्द्र सिंह थापालाई मेयरको रुपमा कामकारबाही नगर्न अन्तरिम आदेश दिएको छ । मुख्य न्यायाधीश यज्ञ प्रसाद बस्यालको एकल इजलासले कुनै काम कारवाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो । मतगणना परिणाम बदर गरी दोहोर्‍याई पुनः पुरै मतगणना गराई पाउँ भनी राप्रपाका मेयर पदका उम्मेदवार पुष्करराज जोशी ‘लख्खाभाइ’ले मंगलबार निवेदन दिएका थिए । जोशी ६२ मतअन्तरले कांग्रेसका नरेन्द्रसिंह थापासँग पराजित भएका थिए । मत गणनामा धाँधली भएको ठहर गर्दैै राप्रपा बैतडीले चुनावी परिणाम स्वीकार नगर्ने घोषणा गरेको छ ।

 

राप्रपाका नेता हेमबाबु लेखकले मतगणनामा संलग्न केही कर्मचारी र प्रतिस्पर्धी पार्टीका कार्यकर्ताहरुको मिलेमतोबाट आफ्नो विपक्षमा एकतर्फी रुपमा मतपरिणाम घोषणा गरिएको आरोप लगाए । मतगणना स्थलमा खटिएका आफ्नो पार्टीका प्रतिनिधिहरुको गम्भीर असहमति हुँदाहुँदै पनि मुख्य निर्वाचन अधिकृतले औंठा छाप लगाएको मत पनि सदर गरेको आरोप राप्रपाको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement