गत वर्षको भदौ २७ सम्झिँदै सुधन गुरुङले लेखेः रगत लतपतिएको ज्याकेटमै राष्ट्रपति कार्यालय पुगें

गत वर्षको भदौ २७ सम्झिँदै सुधन गुरुङले लेखेः रगत लतपतिएको ज्याकेटमै राष्ट्रपति कार्यालय पुगें

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गृहमन्त्री सुधन गुरुङले गत वर्ष भदौ २७ मा आफू रगतले लतपतिएको ज्याकेट लगाएर राष्ट्रपति कार्यालय पुगेको र ९ घण्टासम्म पानीसमेत नखाई बसेको दाबी गरेका छन् ।

भदौ २३ को घटनापछि मुलुक राजनीतिक संकटमा फसेका बेला आफूले देशलाई निकास दिन निर्णायक भूमिका खेलेको दाबी गर्दै गुरुङले सामाजिक सञ्जालमा लामो विवरण सार्वजनिक गरेका हुन् ।

उनको भनाइअनुसार राष्ट्रपति कार्यालय पुग्दा उनको शरीरमा रगत लागेको थियो । त्यसबेला आफूले पानी र खाना केही नखाएको तथा करिब ९ घण्टा राष्ट्रपति कार्यालयमै प्रतीक्षा गरेको उनले बताएका छन् ।

‘राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो, एक थोपा पानी र अन्न मुखमा परेको थिएन,’ गुरुङले लेखेका छन् ।

देश शक्ति रिक्तताको अवस्थामा जान नहुने भन्दै आफू कुनै हालतमा खाली हात फर्किन नहुने अडानमा रहेको पनि उनले दाबी गरेका छन् ।

भदौ २३ पछिको राजनीतिक परिस्थिति असामान्य रहेको र तत्कालीन नेतृत्वप्रति जनविश्वास पूर्ण रूपमा गुमेको उनको भनाइ छ । पुरानो नेतृत्व अस्वीकार्य भइसकेको तर नयाँ नेतृत्व चयन गर्ने स्पष्ट बाटोसमेत नरहेको उनले बताएका छन् ।

‘पुरानो नेतृत्व कुनै हालतमा स्वीकार्य थिएन, नयाँ नेतृत्व कसरी छान्ने कुनै बाटो थिएन,’ गुरुङले लेखेका छन् ।

त्यसबीच तीन दिनसम्म देशको राजनीतिक भविष्य अन्योलमा रहेको र प्रधानमन्त्रीका रूपमा कसलाई अघि सार्ने भन्ने प्रश्नमा मुलुक अड्किएको उनको दाबी छ ।

लामो प्रतीक्षापछि सुशीला कार्की प्रधानमन्त्री बनेको घटनालाई गुरुङले राजनीतिक निकासका रूपमा व्याख्या गरेका छन् । कार्की प्रधानमन्त्री नियुक्त भएपछि आफूले ठूलो जिम्मेवारीको भारी बिसाएको अनुभूति गरेको उनले बताएका छन् ।

‘भदौ २७ मा देशलाई निकास दिन मेरो भागमा पनि जिम्मेवारी आयो । राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो, एक थोपा पानी र अन्न मुखमा परेको थिएन । ९ घण्टाको त्यो प्रतीक्षामा अन्यौलता थियो, तर अडान पनि थियो कि आज देशलाई खाली हात फर्काउन हुँदैन । किनकी बाहिर सिंगो देश पर्खिरहेको थियो’, उनले लेखेका छन्, ‘अन्ततः नेपालले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पायो । त्यो क्षणमा एउटा ठूलो जिम्मेवारीको भारी विसाएर हलुका भएको महसुस भयो, देशले निकास पायो भन्ने अनुभूति भयो। त्यो परिस्थिती हजारौँ युवाको आवाज, नागरिकको अपेक्षा, धेरै व्यक्तिको प्रयास र देशलाई निकास दिनुपर्छ भन्ने साझा चेतनाले बनेको परिस्थिती थियो । मेरो भागमा आएको जिम्मेवारी मैले सकेसम्म निभाएँ । त्यसैले भदौ २७ सम्झिँदा आज पनि मनमा एउटै भावना आउँछ, कठिन परिस्थितिमा देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु ।’

भदौ २७ लाई ऐतिहासिक दिनका रूपमा स्मरण गर्दै गुरुङले उक्त संकटपूर्ण परिस्थितिमा आफ्नो भागमा आएको जिम्मेवारी सकेसम्म निष्ठापूर्वक पूरा गरेको दाबी गरेका छन् ।