काठमाण्डु– राप्रपा प्रमुख सचेतक खुस्बु ओलीले सुनसरीमा भएको गोलीकाण्डमा गोली चलाउने आदेश कसले दिएको हो भन्ने विषयमा सरकारसँग जवाफ मागेकी छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन शाहले प्रहरीको गोली लागेर युवकको मृत्यु भएको उल्लेख गरेकाले घटनाबारे थप स्पष्टता आवश्यक रहेको बताइन् ।
ओलीले अनुसन्धान पूरा हुनुअघि नै प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत प्रहरीको गोलीबाट मृत्यु भएको पुष्टि कसरी गरे भन्ने प्रश्न उठाइन् ।
उनले भनिन्, “यदि गोली प्रहरीले चलाएको हो भने त्यसको आदेश कसले दियोरु र यदि राज्यको आदेशमा गोली चलेको हो भने त्यसको जिम्मेवारी कसले लिने ?’
उनले सत्तारूढ दलका नेताहरूले यस घटनालाई विगतका गोलीकाण्डभन्दा फरक भएको बताए पनि राज्यको जवाफदेहिताको प्रश्न भने समान रहने उल्लेख गरिन् ।
घटनाको प्रकृति र पृष्ठभूमि फरक हुन सक्ने भए पनि गोली चलाउने आदेश कुन संयन्त्रबाट आउँछ भन्ने विषयमा स्पष्टता आवश्यक रहेको उनको भनाइ थियो ।
ओलीले स्थानीय तहका प्रमुखले विद्युत् लाइन काटिएपछि गोली चलेको बताएको, प्रमुख जिल्ला अधिकारीले गोली चलाउने अनुमति नदिएको दाबी गरेको र प्रहरीले हवाई फायर मात्र गरिएको जनाएको भन्दै फरकफरक भनाइले जनतामा अन्योल सिर्जना भएको ओलीले बताइन् ।
उनले घटनाको वास्तविकता बाहिर ल्याउन उच्चस्तरीय आयोग गठन गरी निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरिन् ।
अनुमान, अफवाह वा औपचारिक वक्तव्यमा मात्र सीमित नभई गहिरो अनुसन्धानमार्फत सत्यतथ्य सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो ।
ओलीले हिन्दू धर्माबलम्बीलाई मात्र लक्षित गरी संगीत नबजाउन स्थानीय प्रशासनले निर्देशन दिएको भन्दै आपत्ति जनाइन् ।
पछिल्लो साम्रप्रदायिक दंगाको जिम्मेवारी सरकारले मात्र नभई हिन्दू राज्यबाट नेपाललाई धर्मनिरपेक्ष घोषणा गर्नेहरुले पनि लिनुपर्ने जिकिर गरिन् ।




प्रतिक्रिया