मधेसमा फर्किंदै छ शान्ति, कर्फ्यु र निषेधाज्ञा खुकुलो

मधेसमा फर्किंदै छ शान्ति, कर्फ्यु र निषेधाज्ञा खुकुलो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा १० साउनमा दुई समुदायबीचको झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाएको घटनालाई लिएर मधेसका जिल्लाहरुमा उत्पन्न तनाव क्रमशः मत्थर हुँदै गएको छ ।

तनाव कम हुँदै गएपछि जनजीवन सामान्य हुन थालेको छ । वातावरण अशान्त भएपछि स्थानीय प्रशासनले सुनसरी, सिहार र धनुषामा लगाएको कर्फ्यु र निषेधाज्ञा केही खुकुलो बनाएको छ ।

स्थिति सामान्य बन्दै गएपछि सुनसरीमा ६ दिनदेखि लगाइएको कर्फ्यु हटेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा भने अर्को सूचना प्रकाशित नभएसम्मका लागि जारी रहेको जनाएको छ ।

सिरहा र धनुषामा कर्फ्युकै बीच शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म खाद्यान्न र औषधिलगायत अत्यावश्यक सामग्री खरिदका लागि सर्वसाधारणलाई घरबाहिर निस्कन दिइएको थियो ।

एम्बुलेन्स, दमकल, शववाहन, पानी र दूध बोकेका तथा अस्पताल, चिकत्सक र प्रेसलगायत अत्यावश्यक सेवासँग सम्बन्धित सवारी साधन सञ्चालनमा भने रोक लगाइएको छैन ।

यस्तै हवाई यात्रीलाई सम्बन्धित निकायले जारी गरेको परिचयपत्र वा हवाई टिकटका आधारमा विमानस्थल आउजाउ गर्न दिइएको छ ।
स्थिति साम्य पार्ने प्रयासमा गृहमन्त्री सुधन गुरुङ तीन दिनयता मधेसमै छन् । गएराति गुरुङले सिरहा गोलबजारमा भएको प्रदर्शका क्रममा बुधबार सुरक्षाकर्मीको गोली लागेर मृत्यु १५ वर्षीय गणेश यादवका परिवारसँग ८ बुँदे सहमति गरेका थिए ।

त्यस्तै सहमति उनले शुक्रबार सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा १० साउनमा गोली लागी मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग पनि गरेका थिए ।


दुवै सहमतिमा मृतकहरुलाई सरकारले शहीद घोषणा गर्ने, आश्रित परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, परिवारका सदस्यलाई रोजगारी दिने तथा घटना छानबिनका लागि गठित समितिको सिफारिसका आधारमा दोषीमाथि कारबाही गर्नेलगायत विषय उल्लेख छन् ।


मधेस क्षेत्रमा बढ्दो तनाब कम गर्न अपिल गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बिहीबार राति सार्वजनिक सम्बोधन गरेका थिए । उनले साम्प्रदायिक तनाव कम गर्न तथा सामाजिक सदभाव कायम गराउने प्रयासस्वरुप राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादव र मधेस केन्द्रित दलका नेताहरुसँग परामर्शसमेत गरेका थिए ।


यस्तै सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दल, मधेस केन्द्रित दलका साथै दुवै समुदायका धार्मिक अगुवालाई भेटेर सामाजिक सदभाव कायम गर्नका लागि पहल गर्न आग्रह गरेका थिए ।

यस्तै प्रमुख प्रतिपक्षी दल काँग्रेस, एमाले, नेकपासहितले सामाजिक सदभाव कायम गर्न अपिल गरेका थिए ।

राष्ट्रिय स्वतनत्र पार्टी (रास्वपा) ले समस्य समाधानका लागि सहजीकरण गर्न आफ्ना सांसदलाई गृह जिल्ला पठाएको थियो ।


सशस्त्र प्रहरी बल नेपाल नम्बर–२ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) विष्णुप्रसाद भट्टले स्थिति सामान्य बन्दै गएको बताए ।

उनका अनुसार धनुषाको जनकपुरधाम र बाराको कलैयालगायत स्थानमा सर्वपक्षीय सदभाव -याली निकालिएका छन् ।

डिआईजी भट्टका अनुसार पर्सा, रौतहट, धनुषा र सप्तरीका केही स्थानमा भने प्रदर्शनहरु भइरहेका छन् ।