मन्त्री बनाउने विषयमा राजपामा विवाद


काठमाडौं – राष्ट्रिय जनता पार्टीभित्र प्रदेश नम्बर २ को मन्त्रीमण्डलमा पार्टीबाट कसलाई पठाउने भन्ने विषयमा सैद्धान्तिक सहमति जुटाउनै कठिन भएको छ।

प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपा मिलेर सरकार बनाउँदैछन्। फोरमले लालबावु राउतलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ। फागुन ३ गते उनको शपथग्रहण समारोह छ।

तर, राजपाभित्र निर्वाचन जितेकालाई मात्रै मन्त्री बनाउनु पर्ने एउटा तर्क र अर्को समानुपातिकलाई पनि बनाउनुपर्ने तर्कका कारण अध्यक्ष मण्डलबीच क कसलाई मन्त्री बनाउने विषयमा सहमति जुट्न सकेको छैन ।

पार्टी स्रोतले भन्यो ‘सोमबार राति अबेरसम्म बसेको बैठकमा पनि सहमति जुट्न नसकेपछि पहिलो चरणको मन्त्रीमण्डल गठनमा राजपाबाट प्रतिनिधित्व हुने सम्भावना कम छ।’ फोरम र राजपाले पहिलो चरणमा ७ सदस्यीय मन्त्रीमण्डल गठन गर्ने सहमति गरेका छन्।

मुख्यमन्त्रीसहित आन्तरिक मामिला, अर्थ र कृषि फोरमले तथा भौतिक पूर्वाधार, उद्योग र पर्यटन तथा सामाजिक विकास मन्त्रालय राजपाले लिने दुई दलबीच सहमति भएको छ। राजपाका २५ जना सांसद छन्। त्यसमध्ये १० जना समानुपातिक सूचीबाट सांसद् बनेका छन्।

अध्यक्ष मण्डलका सदस्य महेन्द्र रायले प्रत्यक्ष जितेकालाई मात्रै मन्त्री बनाउनुपर्ने अडान राखेका छन्। नेताहरु अनिलकुमार झा र राजकिशोर यादवले भने समानुपातिक सांसदको हैसियत पनि उस्तै हुने भएकाले उनीहरुबाट पनि मन्त्री बनाइनुपर्ने पक्षमा छन्।

दुईथरी तर्क गर्ने नेताहरु आफ्ना पक्षधर सांसदहरु प्रत्यक्ष कि समानुपातिक कुन प्रणालीबाट प्रतिनिधित्व गरेका छन् त्यसैलाई ध्यानमा राखेर अडान गरिरहेको पार्टी स्रोतको भनाइ छ।  यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement