काठमाण्डू– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद् हर्कराज साम्पाङ राईले सरकारलाई उत्तरदायी बनाउने प्रयास स्वरुप आफूहरुले संसदमा प्लेकार्ड प्रदर्शन गरेको प्रष्टीकरण दिएका छन् ।
सोमबार विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तबारे प्रतिनिधिसभामा बोल्दै उनले सरकार सार्वभौम हो कि संसद् सार्वभौम भन्ने प्रश्न गरे ।
श्रम संस्कृतिका सांसद् सोमबार बैठकमा प्लेकार्डसहित संसद् बैठकमा सहभागी भएका थिए । उनले ब्यङ्गात्मक शैलीमा नेपाल कस्तो देश भन्नेबारे आफ्ना धारणा राखे ।
‘संसद सार्वभौम हुन्छ कि संसद् सार्वभौम हुन्छ ? म प्रश्न गर्न चाहन्छु र यो सरकारलाई सार्वभौम संसदप्रति उत्तरदायी बनाउने प्रयत्न हो’, राईले भने ।
राईले आफू विनियोजन विधेयकका सिद्धान्तको छलफलमा प्रवेश नगर्ने भन्दै जनताले जे बोल्न पठाएको हो त्यही मात्र बोल्ने बताए ।
‘संविधान भएको देश, खाने धान नभएको देश, संविधानको धारैधारा भएको देश, पानीको धारा नभएको देश, विधि र विधान भएको देश, तर, बाटो र यात्रा गर्ने साधन नभएको देश, कानून भएको देश, खाने नुन नभएको देश’, उनले भने, ‘त्यसो भएका कारणले गर्दा विनियोजन विधेयकको सिद्धान्ततिर म जान चाहन्न । जनताले मलाई जे बोल्नका लागि पठाएको हो, त्यतातिर म जान चाहन्छु ।’




प्रतिक्रिया