काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री तथा सांसद विपीन आचार्यले संसद बैठक सञ्चालनको तरिका कर्मकाण्डी भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै आचार्यले जुनसुकै सरकारले ल्याउने नीति तथा कार्यक्रम जतिसुकै उत्कृष्ट र जनमुखी भए पनि प्रतिपक्षले विरोध नै गर्ने गरेको उल्लेख गरे ।
‘प्रतिपक्षमा बस्ने माननीय सदस्यले रोस्ट्रममा उभिएर बोल्ने एउटै थेगो छ, नीति तथा कार्यक्रमले केही नयाँ ल्याउन सकेन, यो पूर्णतः कर्मकाण्डी भयो । राम्रोलाई राम्रो भन्न नसक्ने यो कस्तो प्रतिपक्षी धर्म हो ?,’ उनले प्रश्न गर्दै भने ।
यस्तै, सत्तापक्षको अवस्था पनि उस्तै उदेकलाग्दो रहेको आचार्यले गुनासो गरे ।
सरकार निर्माण, विश्वासको मत र बजेट जस्ता केही आधारभूत प्राविधिक विषयहरूमा दलको ह्विप अनिवार्य हुने र त्यहाँ कित्ताकाट जरुरी हुने उनको स्वीकारोक्ति छ । तर ती प्राविधिक विषयभन्दा पर, कानुन निर्माण र जनजीविकाका सवालमा सत्तापक्ष र प्रतिपक्ष दुवैले दलीय चस्मा फुकालेर गुण र दोषका आधारमा निर्णय गर्न सक्ने पद्धति विकास गर्नुपर्ने सुझाव आचार्यले दिए ।
उनले भने, ‘हामी कति पटक देख्छौँ, एउटा सांसद संसद्मा उपस्थित हुँदैन, तर बाहिर कुनै कार्यक्रममा भाषण गरिरहेको हुन्छ। यो पक्कै पनि सही अभ्यास होइन।’
आचार्यले एउटा सांसदका लागि संसदीय काम–कर्तव्य भन्दा अरू ठुलो कुरा केही पनि नहुने बताउँदै भने, ‘संसदीय गतिविधि भन्दा महत्त्वपूर्ण अरू के–के कुरा हुन सक्छन्, यो नियमावलीले ती कुराहरूमा स्पष्टता ल्याओस्। कुन–कुन अवस्थामा मात्र सांसद सदनमा अनुपस्थित हुन पाउँछ, त्यसको स्पष्ट मापदण्ड तय गरौँ।’




प्रतिक्रिया