नोबेल शान्ति पुरस्कार नपाएको झोंकमा ट्रम्पले नर्वेमाथि पोखे आक्रोश

नोबेल शान्ति पुरस्कार नपाएको झोंकमा ट्रम्पले नर्वेमाथि पोखे आक्रोश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कार नपाएको विषयलाई लिएर फेरि असन्तुष्टि जनाएका छन् ।

उनले नर्वेको आलोचना गर्दै त्यहाँका मानिसलाई अमेरिकामा आउन दिन नचाहेको बताएका छन् ।

आइतबार अमेरिकाको मिसिगनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले आफूले आठवटा युद्ध रोक्न भूमिका खेले पनि नोबेल शान्ति पुरस्कार नपाएको गुनासो गरे ।

‘मैले आठवटा युद्ध रोकेँ । तैपनि मलाई नोबेल पुरस्कार दिइएन । म नर्वेबाट कसैलाई पनि यहाँ आउन दिन चाहन्नँ,’ उनले भने।

ट्रम्पले फ्रान्समा हालै भएका हिंसात्मक घटनाका लागि आप्रवासीलाई जिम्मेवार ठहर्‍याउँदै नर्वेको पनि आलोचना गरेका थिए । उनले नर्वे ‘घटिया देश’ बनेको टिप्पणी गरेका छन्।

ट्रम्पले लामो समयदेखि आफूले गरेका कूटनीतिक प्रयासका लागि नोबेल शान्ति पुरस्कार पाउनुपर्ने दाबी गर्दै आएका छन् ।

उनले अब इरान र युक्रेनको युद्ध समाधान गर्न बाँकी रहेको बताएका छन् । पुरस्कार घोषणा हुनुअघि आफूले सम्मान पाउने अपेक्षा गरेको र यसबारे पत्नीलाई समेत बताएको उनले उल्लेख गरेका थिए ।

नोबेल पुरस्कार नर्वे सरकारले दिँदैन

नोबेल शान्ति पुरस्कार विजेता छनोट गर्ने काम नर्वे सरकारले गर्दैन । विजेता छनोटका लागि स्वतन्त्र नर्वेजियन नोबेल समिति छ । पाँच सदस्यीय उक्त समिति नर्वेको संसद्ले नियुक्त गर्छ ।

नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरले यसअघि पनि ट्रम्पलाई पुरस्कारको निर्णय सरकारबाट नभई स्वतन्त्र समितिबाट हुने कुरा स्पष्ट पारेका थिए ।

सन् २०१८ देखि नै पुरस्कारप्रति चासो

ट्रम्पले सन् २०१८ देखि नै नोबेल शान्ति पुरस्कारको विषय उठाउँदै आएका छन् । त्यस वर्ष उनले उत्तर कोरिया र सिरियामा शान्ति कायम गर्ने प्रयास गरे पनि आफूले पुरस्कार नपाउन सक्ने बताएका थिए ।

सन् २०१९ मा उनले जापानका तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले आफूलाई पुरस्कारका लागि मनोनयन गरेको दाबी गरेका थिए । त्यसै वर्ष उनले पुरस्कार निष्पक्ष रूपमा दिइए आफूले विभिन्न कामका लागि नोबेल पुरस्कार पाउन सक्ने बताएका थिए ।

सन् २०२० को राष्ट्रपतीय निर्वाचनका क्रममा पनि ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामालाई नोबेल शान्ति पुरस्कार दिइएको विषय उठाउँदै आफूले पनि त्यस्तो सम्मान पाउनुपर्ने तर्क गरेका थिए ।

सन् २०२५ को जुलाईमा नर्वेका अर्थमन्त्री जेन्स स्टोल्टेनबर्गसँगको टेलिफोन कुराकानीमा पनि ट्रम्पले नोबेल शान्ति पुरस्कार पाउने इच्छा व्यक्त गरेका थिए ।

समाचारमा सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी नवी पिल्लैले पाएको र त्यसप्रति पनि ट्रम्पले असन्तुष्टि जनाएको उल्लेख छ । ट्रम्पले आफूले आठवटा युद्ध अन्त्य गराउन सहयोग गरेको दाबी गर्दै एक नभई आठवटा नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका थिए ।