काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र कमल थापा तथा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेसहितका नेताहरू जिल्ला भ्रमणमा जाने भएका छन्।
आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने तयारी भइरहेका बेला नेताहरू जिल्ला भ्रमणमा निस्कन लागेका हुन्।
पार्टी नेताका अनुसार कात्तिक ११ गते पर्साको वीरगञ्जबाट सुरु हुने भ्रमण बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी र मोरङ हुँदै झापामा पुगेर समापन हुनेछ।
भ्रमणका क्रममा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रिय राजनीतिमा राप्रपाको भूमिका र पार्टीको संगठनात्मक सुदृढीकरणका विषयमा छलफल तथा अन्तरक्रिया गरिने बताइएको छ।
राप्रपाका ७५ जिल्ला अधिवेशन र पाँच प्रदेश कार्यसमितिका अधिवेशन सम्पन्न भइसकेका छन्। पार्टीले सक्रिय सदस्यता वितरण तथा नवीकरणको म्याद कात्तिक १८ गतेसम्म तोकेको छ।
आगामी मंसिरमा महाधिवेशन गर्ने तयारी भइरहेका बेला पूर्वअध्यक्षद्वय लोहनी र थापा तथा वरिष्ठ उपाध्यक्ष पाण्डेसहितका नेताहरूको जिल्ला भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
भ्रमणले पार्टीको संगठनात्मक अवस्था बुझ्न, कार्यकर्तासँग छलफल गर्न र महाधिवेशनको तयारीलाई गति दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया