रास्वपा शैली पछ्याउँदै कांग्रेस, डिजिटल मतदानबाट उम्मेदवार छान्ने तयारी

रास्वपा शैली पछ्याउँदै कांग्रेस, डिजिटल मतदानबाट उम्मेदवार छान्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा- नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनका उम्मेदवार डिजिटल मतदान प्रक्रियाबाट चयन गर्ने भएको छ ।

चुनाव हुनुभन्दा दुईदेखि तीन महिनाअघि नै डिजिटल मतदान प्रक्रियाबाट चयन गर्ने तयारीमा कांग्रेस लागेको हो ।

यसअघि रास्वपाले यस्तै शैली अपनाएको थियो । रास्वपामा स्थानीय तहका उम्मेदवार चयनका लागि ‘क्याण्डिडेट क्लब’ मार्फत उम्मेदवारका आकांक्षीले आवेदन दिइरहेका छन् ।

सभापति गगन थापाले सोमबार स्याङ्जामा आयोजित कार्यक्रममा उम्मेदवार छनोटको नयाँ व्यवस्था आगामी निर्वाचनबाटै कार्यान्वयन गरिने बताए ।

‘अब उम्मेदवार छनोटमा विगतको टिकट वितरण शैलीलाई निरन्तरता दिइने छैन’, थापाले भने, ‘अब चुनावको दुई-तीन महिनाअघि नै उम्मेदवारको टुंगो लाग्छ, त्यो पनि डिजिटल मतदानबाट।’

१५औं महाधिवेशनबाट पारित विधानमा पार्टी सदस्यले डिजिटल मतदानमार्फत् उम्मेदवार चयन गर्ने व्यवस्था समावेश गरिएको उल्लेख गर्दै उनले त्यसलाई व्यवहारमा लागू गर्ने तयारी भइरहेको बताए ।

नयाँ व्यवस्थाअनुसार सुरुमा उम्मेदवारको प्रारम्भिक सूची तयार गरिनेछ । त्यसपछि विभिन्न तहमा छलफल गरेर अन्तिम उम्मेदवारको टुंगो लगाइनेछ । सभापति थापाले पार्टीका क्रियाशील सदस्यताको अद्यावधिक काम एक महिनाभित्र सम्पन्न गरिने पनि जानकारी दिए ।

१५औँ महाधिवेशनका क्रममा क्रियाशील सदस्यता अद्यावधिक गर्न बाँकी रहेकाहरूलाई समेत अधिवेशनमा सहभागी गराइएको उल्लेख गर्दै उनले उनीहरूको सदस्यता विवरण छिट्टै अद्यावधिक गरिने बताए ।

उम्मेदवार छनोटलाई व्यवस्थित, पारदर्शी र समयमै सम्पन्न गर्ने गरी पार्टी अघि बढ्ने उनको भनाइ छ ।