मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीको नेपाल–चीन सीमा रसुवागढी नाकामा भीडभाड हुन थालेको छ।
रसुवागढी नाका छोटो, सहज र सुविधाजनक हुँदा विदेशी तथा नेपाली यात्रुको चाप उल्लेखनीय रूपमा वृद्धि भएको हो।
अध्यागमन कार्यालय रसुवागढीका प्रमुख यादव भण्डारीका अनुसार सन् २०२६ को जनवरीदेखि जुन १४ तारिखसम्म रसुवागढी नाकाबाट १७ हजार २४१ जना यात्रु चीनतर्फ प्रस्थान गरेका छन्। प्रस्थान गर्ने यात्रुहरूमा भारत, नेपाल, अमेरिका, रूस, अष्ट्रेलिया, भुटान, संयुक्त अधिराज्य (युके), मलेसिया तथा जर्मनीका नागरिक रहेका छन्। कार्यालयका अनुसार चीन प्रवेश गरेका यात्रुमध्ये अधिकांश मानसरोवर कैलास पुग्ने गरेको बताइएको छ।
काठमाडौँ विमानस्थलदेखि टिमुरेको घट्टेखोला क्षेत्रसम्म मानसरोवर कैलासका केही यात्रुले हेलिकोप्टर सेवा प्रयोग गर्ने गरेको टिमुरे हेलिप्याडका व्यवस्थापक सोनाम वाङ्दी तामाङले जानकारी दिए।
काठमाडौंबाट बसमार्फत करिब १० घण्टामा रसुवागढी पुग्न सकिने तथा हेलिकोप्टरमार्फत् करिब आधा घण्टामै पुग्न सकिने भएकाले यात्रुहरूले यस मार्गलाई प्राथमिकता दिन थालेका छन्। यात्रुको चाप बढेसँगै अध्यागमन कार्यालयमा सेवा प्रवाहमा थप चुनौती समेत देखिएको जनाइएको छ।
प्रवेश आज्ञा अनुमति अभिलेख तथा दर्ता कार्यका लागि कर्मचारी अभाव हुँदा यात्रु लामो समय लाइनमा बस्नुपर्ने अवस्था रहेको गुनासो बढ्दै गएको छ। हाल कार्यालयमा दुईवटा डेस्कबाट मात्र सेवा प्रवाह भइरहेकाले समस्या देखिएको हो।
कार्यालय प्रमुख भण्डारीले हालको संरचनामा सेवा विस्तार गर्न भाडाको घरका भौतिक संरचनाबाट कठिन रहेको बताउँदै रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार तथा सीमा व्यवस्थापन भवन सम्पन्न भएपछि सेवा थप व्यवस्थित र प्रभावकारी हुने बताइन्।
यसैबीच, अध्यागमन कार्यालय नजिकै यात्रुहरू भिसा दर्ताका लागि लाइनमा बस्ने स्थानमा चीनबाट आयात गरिएका विद्युतीय सवारीसाधन (इभी) सडक किनारमै लामो समय पार्किङ गर्ने गरिएको जनाउँदै स्थानीय बासिन्दाले सडकको पार्किङ हटाउन ट्राफिक प्रहरीसँग आग्रह गरेका छन्।
जनवरीदेखि जुन १४ तारिखसम्म भिसा दर्ता तथा सम्बन्धित सेवा शुल्कबाट ६२ लाख ८० हजार ४२० रुपैयाँ ८६ पैसा राजस्वसमेत संकलन भएको प्रमुख भण्डारीले जानकारी दिए। मानसरोवर–कैलासमा हिन्दू, बौद्धलगायत विभिन्न धर्मावलम्बी भक्तजन पुग्ने गरेका छन्।
यात्रुको सङ्ख्या बढेसँगै स्याफ्रुबेँसी, टिमुरे र घट्टेखोला क्षेत्रका होटल, यातायात तथा अन्य व्यापार–व्यवसायसमेत चलायमान बनेको स्थानीय व्यवसायीहरू बताएका छन्।




प्रतिक्रिया