काठमाण्डु – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन तत्काल वैकल्पिक संरचना निर्माण गरिने भएको छ ।
पूर्वाधार विकास मन्त्रालयमा मंगलबार बसेको बैठकले कृष्णभीरको पहिरो व्यवस्थापन तथा पृथ्वी राजमार्ग सञ्चालनका लागि तत्कालीन र दीर्घकालीन उपाय अघि बढाउने निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार विपद् प्रभावित क्षेत्र र राजधानी बिचको आपूर्ति शृंखला पुन:स्थापना गर्न कृष्णभीरको हिलसाइडमा रहेको ‘ग्याबियन ब्रेस्ट वाल’माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना तत्काल निर्माण गरिनेछ ।
त्यसका लागि ट्रयाक खोल्ने कामसँगै ‘सेक्रिफिसियल ग्याबियन बक्स’ तथा ‘बोल्डर हिलसाइड’बाट तल खसाल्ने कार्यसमेत अघि बढाइने मन्त्रालयले जनाएको छ ।
कृष्णभीरको दीर्घकालीन समाधानका लागि भने टनेल, सोइल नेलिङ र सिट पाइल लगायतका विकल्पबारे सडक विभागले आवश्यक अध्ययन गर्ने भएको छ ।
कृष्णभीरको विकल्पमा टनेल वा बाइपास सडक निर्माण गर्न सकिने सम्भावित स्थान तथा विकल्पको तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने निर्णय भएको छ ।
विकल्पहरूको प्राविधिक अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने भएको छ । आवश्यकताअनुसार सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीबिच समझदारीपत्र (एमओयू) समेत गरिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले तत्कालीन उपायमार्फत पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने तथा दीर्घकालीन रूपमा कृष्णभीरको समस्या समाधान गर्न वैज्ञानिक र प्राविधिक विकल्प अघि बढाउने जनाएको छ ।




प्रतिक्रिया