काठमाण्डु– कांग्रेस सभापति गगनकुमार थापाले राजनीतिलाई सत्ता र शक्तिको सीमित घेराबाट बाहिर निकालेर जनसेवा र मानव सेवाको प्रमुख माध्यम बनाउनुपर्ने बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले राजनीतिमा बढ्दै गएको पद, प्रतिष्ठा र शक्तिको मोहप्रति चिन्ता व्यक्त गरे ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै सभापति थापाले राजनीति सबैभन्दा ठूलो सार्वजनिक सेवाको क्षेत्र भएको उल्लेख गरे ।
उनले नागरिक र मानव सेवाका लागि सत्ता तथा शक्तिलाई साधनका रूपमा प्रयोग गर्नुपर्ने भए पनि अहिले कतिपय अवस्थामा राजनीति केवल सत्ता प्राप्तिको माध्यम बन्दै गएको बताए ।
‘‘नागरिक र मानव सेवा गर्न शक्ति भयो भने अझ धेरै काम गर्न सकिन्छ, सत्ता भयो भने अझ प्रभावकारी रूपमा सेवा गर्न सकिन्छ भन्ने सोचबाट हामी चिप्लिएर शक्ति र सत्ताकै लागि राजनीति गर्ने ठाउँमा पुगेका छौँ,’ उनले भने ।
सभापति थापाले कांग्रेसका संस्थापक नेताहरूले सत्ता वा शक्तिको आकांक्षाले नभई नागरिक सेवाको भावनाले पार्टी स्थापना गरेको स्मरण गरे ।
बदलिँदो समयसँगै पार्टीसामु नयाँ चुनौती र विषय थपिएको उल्लेख गर्दै उनले सांगठनिक सुदृढीकरणसँगै नीतिगत स्पष्टता आवश्यक रहेको बताए ।
उनले पार्टीका नियमित संगठनात्मक गतिविधिसँगै वैचारिक, सामाजिक र प्रशिक्षणमूलक कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।




प्रतिक्रिया