राष्ट्रपतिको एक उडानले नागरिकका २०० उडान अस्तव्यस्त ,भिआइपी संस्कृतिले गणतन्त्रकै बदनामी


काठमाडौं – राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हुनु काठमाडौंवासीका लागि नौलो विषय होइन । सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदा आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब दुई सय उडान प्रभावित भएका छन् ।

राष्ट्रपतिको सवारीका लागि विमानस्थलमा ५७ मिनेट सबै उडान रोकिएको थियो । यसले उडान तालिका अस्तव्यस्त बन्यो भने यात्रुले घन्टौँसम्म विमानस्थलमा कुर्नुपर्‍यो । राष्ट्रपतिको सम्मानका नाममा उनको सवारी हुँदा सडक र विमानस्थल खाली गराउन थालेपछि गणतन्त्र नै बदनाम बन्न थालेको छ । शासन व्यवस्था फेरिए भने शासनशैली नफेरिएको भन्दै यसको व्यापक आलोचना हुँदै आएको छ । सवारीमा सामन्ती शैली अपनाएको भन्दै सर्वसाधारणले पटक–पटक आलोचना गर्दा पनि सरकारले यसमा सुधारको प्रयास गरेको छैन । यसकारण गणतन्त्रप्रति नै सर्वसाधारणको वितृष्णा बढेको छ ।

बुधबार त्रिभुवन विमानस्थले बिहान १०:३० देखि ११:१० सम्म उडान तथा अवतरण वर्जित गरिएको नोटिस टु एयरमेन (नोटाम) जारी गरेको थियो । तर, त्यस अवधिभित्र समेत राष्ट्रपतिको विमान उडेन, करिब १७ मिनेट ढिला भयो । ४० मिनेटका लागि जारी भएको नोटाममा फेरि २० मिनेट थप गरियो । यो अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियसम्मका उडान पूरै अवरुद्ध भए ।

एकातिर त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मतका लागि विमानस्थलको सञ्चालन समय २१ घन्टाबाट घटाएर १४ घन्टा बनाइएपछि विमानस्थलमा चाप बढेको छ । त्यसैमाथि राष्ट्रपतिको उडानका लािग एक घन्टा सबै विमान रोकिएपछि बुधबार दिनभरिको उडान प्रभावित भए । त्रिभुवन विमानस्थलमा दैनिक औसत तीन सय उडान हुन्छन् । बुधबार १०:३० पछि करिब ८० वटा अन्तर्राष्ट्रिय र एक सय २० आन्तरिक उडान प्रभावित भएका हुन् ।यो समाचार आजको नयांपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement